November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

लोसपाले गर्‍यो निर्वाचन आचारसंहिता उल्लंघन, विद्यालयमा पार्टी प्रवेश कार्यक्रम

राजविराज — निर्वाचन आयोगले आचारसंहिता लागू गरेको २४ घण्टा पनि नबित्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सप्तरीमा शनिबार आचारसंहिता उल्लंघन गरेको छ । आगोगले शुक्रबार मध्यरातिबाट देशभरी नै निर्वाचन आचारसंहिता लागू गरेको थियो । 

केन्द्रीय कार्यकारिणी सदस्य केशव झा समेतको उपस्थितिमा लोसपाले सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर १ झुटकीस्थित सामुदायिक विद्यालयको कक्षा कोठामा पार्टी प्रवेश कार्यक्रम गरेको हो । विद्यालयमा लोसपाले शनिबार पार्टीको भेला तथा पार्टी प्रवेश कार्यक्रम राखेको थियो । विद्यालयमा पार्टी प्रवेश कार्यक्रम गरेको तस्बिर लोसपा नेताहरुले सामाजिक संजालमा राखेका छन् । कार्यक्रममा लोसपाका केन्द्रीय कार्यकारिणी सदस्य झाका अतिरिक्त, केन्द्रीय नेता गजेन्द्र मण्डल, जिल्ला अध्यक्ष सुनिलकुमार झा, स्थानीय नेता मुसहरु यादवलगायतको सहभागिता थियो ।

निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको परिच्छेद २ को ४ को ‘ग’ मा कुनै पनि सरकारी कार्यालय वा सामुदायिक विश्वविद्यालय वा विद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचनसम्बन्धी भेला वा प्रचारप्रसार गर्न वा गराउन नहुने कुरा उल्लेख छ । त्यसविपरीत लोसपाका नेता कार्यकर्ताहरुले झुटकीस्थित विद्यालयको कक्षा कोठामै ब्यानर र चुनावचिह्न अंकित झन्डा राखेर भेला तथा पार्टी प्रवेश कार्यक्रम गरेको हो ।

Advertisement

कार्यक्रममा सहभागी लोसपाका केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले त्रुटि भएको स्वीकारे । ‘हिजो (शुक्रबार) रातिदेखि आचारसंहिता लागू भएको हो, स्थानीय साथीहरुले शनिबार भएकाले विद्यालयमा कार्यक्रम गरे तर यस्तो त्रुटि अब दोहोरिँदैन ।’