जनकपुरधाम : निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले तोकेको समयमा निर्वाचन नभए मुलुक दुर्घटनामा फस्ने बताएका छन्। शनिबार जनकपुरधाममा स्थानीय तह निर्वाचन २०७९ मिडिया अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रमुख आयुक्त थपलियाले सरकारले निर्वाचनको मिति तय गरिसकेकाले तर्क वितर्कको आवश्यकता नरहेको बताए।
स्थानीय तहको निर्वाचनलाई तलमाथि गर्ने वा अन्य कुनै तरिकाले सारिनु भनेको दुर्घटना निम्त्याउनु हो भन्दै उनले यो लोकतन्त्रको निम्ति अत्यन्त अप्रिय विषय हुने स्पष्ट पारे।
यो वर्ष मुलुकका लागि निर्वाचन वर्ष भएकाले सम्पूर्ण पक्षलाई सक्रिय सहभागिताका लागि उनले आव्हान गरे। यसवर्ष भित्र प्रदेश, प्रतिनिधि सभा, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्ने तयारी आयोगले गरिरहेको उनले जानकारी दिए।