November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

कुलमानको फोटोसहितको पोस्टर जनस्तरबाटै तयार भएको हो : माओवादी केन्द्र

काठमाडौँ — नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिरलाई चुनावी प्रचारका लागि प्रयोग गरिएको सामाग्रीले निर्वाचन आचारसंहिता उलंघन नभएको माओवादी केन्द्रले दाबी गरेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको आधिकारिक फेसबुक पेजबाट घिसिङसहितको तस्बिर राखेर चुनावी पोस्टर सार्वजनिक गरिएको थियो । जुन पोस्टरमा माओवादीको चुनाव चिन्हसमेत राखिएको थियो ।

पोस्टरमा माओवादी अध्यक्ष दाहालसहित उर्जामन्त्री जर्नादन शर्मा र घिसिङको तस्बिर पनि राखिएको थियो । तर निर्वाचन आचारसंहिता उल्लंघन हुने पोस्टर सार्वज्निक गरेको भन्दै निर्वाचन आयोगले वैशाख १ गते बिहीबार माओवादीलाई पत्र काटेको थियो ।

Advertisement

पत्रको जवाफमा माओवादीले पोस्टर जनस्तरबाट तयार भएकोले घिसिङको सहमतिसमेत आवश्यक नभएको दाबी गरेको छ । ‘उक्त पोस्टर यस पार्टीको तर्फबाट निर्वाचन सामग्रीको रुपमा प्रचार गरेको नभइ पार्टीका अध्यक्ष तथा प्रचण्डको सरकारमा रहेका उर्जामन्त्री जर्नादन शर्मा तथा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बहाल रहेको अवस्थामा लोडसेडिङ अन्त्य भएकोले जनस्तरबाट तयार गरिएको पोस्टर सामाजिक सञ्जालमा प्रशारित हुन गएको हो,’ माओवादीले आयोगमा पठाएको पत्रमा भनिएको छ, ‘उक्त पोस्टर तत्काल फेसबुक पेजबाट हटाइएको छ ।’

आयोगले माओवादी केन्द्रलाई घिसिङको फोटो सहमतिमा राखिएको हो वा होइन ?, चुनावी पोस्टर तयार गरेको हो वा होइन ?, आचारसंहिता उलंघन हुने भएकोले के कति कारणले त्यस्ता पोस्टर तयार गरी सार्वजनिक गरिएको हो ? भनेर प्रश्न सोधेको थियो ।

यसको जवाफमा माओवादी केन्द्रले आचारसंहिता उल्लंघन गरेको कसुरबाट उन्मुक्ति पाउन जनस्तरबाट तयार भएको जवाफ फर्काएको हो । ‘जनस्तरबाट तयार भएको पोस्टर भएकोले यस विषयमा कुलमान घिसिङसँग कुनै सम्पर्क र सहमति गर्नुपर्ने विषय रहेन,’आयोगलाई माओवादीले दिएको जवाफमा भनिएको छ,‘पोस्टर निर्वाचन प्रचारप्रसारका लागि पार्टीबाट कुनै प्रचारप्रसार नभएकोले निर्वाचन आचारसंहिता विपरीत हुने गरी कुनै प्रचारप्रसार गरेको छैन ।’ आयोगले घिसिङलाई समेत सहमतिमा फोटो राखेको हो वा होइन भन्दै जवाफ सोधेको थियो ।घिसिङले भने यसबारे आयोगमा जवाफ दिएका छैनन् ।