November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

मेयरको उम्मेदवार बन्न उपसचिवबाट राजीनामा

काठमाडाैं । वैशाख ३० गते हुने स्थानीय चुनावमा मेयर लड्न एकजना उपसचिवले राजीनामा दिने भएका छन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत उपसचिव बिष्णुप्रसाद भुसालले नवलपुरको देवचुली नगरपालिकाको मेयर लड्न पदबाट राजीनामा दिन लागेका हुन्।

‘म आजै सचिवज्यूलाई राजीनामा बुझाउँदैछु,’ भुसालले भने,‘लामो समय स्थानीय तहमा काम गरेकाले केही गर्न सक्छु कि भनेर मेयर लड्न जान लागेको हुँ।’

Advertisement

देवचुली नगरपालिकाका स्थानीय उनले केही समयअघि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत बनेर काम गरेका थिए। निजामती सेवामा २२ वर्ष बिताएका भुसालले विकास प्रशासनमा स्नातकोत्तर गरेका छन्। 

भुसालले नेपाली कांग्रेसबाट उम्मेदवार बन्ने बताएका छन्। यो नगरपालिका कांग्रेस पूर्वमहामन्त्री शशांक कोइरालाको क्षेत्र पर्छ। 

‘कांग्रेसबाट टिकट पाउने भन्ने कुरा छ। म त्यसैको प्रक्रियामा छु,’ उनले भने। 

यसअघि २२ पटक परीक्षा दिएर नेपाल विद्युत प्राधिकरणको अधिकृतमा नाम निकालेका कञ्चनराज गिरीले मेयर लड्न राजीनामा दिएका थिए। 

उनी काभ्रेको बनेपामा मेयरका लागि स्वतन्त्र उम्मेदवार बन्दैछन्।