November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

नेपाल आदिवासी जनजाति महासंघ मकाउको प्रथम ऐतिहासिक बार्षिक उत्सव सम्पन्न

मकाउ । नेपाल आदिवासी जनजाति महासंघ मकाउको प्रथम ऐतिहासिक बार्षिक उत्सव सम्पन्न भएको छ । सोमबार नेपाल आदिवासी जनजाति महासंघ मकाउले आफ्नो प्रथम ऐतिहासिक बार्षिक उत्सव सफलतापूर्वक मनाएको हो ।

मकाउको होटेल टाउन वेलमा आयोजित कार्यक्रममा कार्यक्रमको सभाध्यक्ष नेफिन मकाउका अध्यक्ष भीम राईले गरेका थिए भने प्रमुख अतिथिका रूपमा नेफिन मकाउका सल्लाहकार तथा नेपाली काँग्रेस जनसम्पर्क समिति मकाउको संरक्षक÷सल्लाहकार सुदर्शन थापामगर आसीन थिए ।

मकाउमा विभिन्न क्षेत्रहरूमा कार्यरत आदिवासी जनजातिहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रममा किराँत याक्थुङ चुम्लुङ, किराँत राई यायोक्खा, मगर संघ, तमु समाज, तामाङ घेदुङ संघ, एनआरएनए, शेर्पा समाज, थारू कल्याणकारी संघ तथा नेवा गुठी लगायतका जातीय संघसंस्थाहरूले संस्थागत उपस्थिति जनाएको थियो । त्यस्तै चेपाङ र मुस्लिम समुदायबाट समेत प्रतिनिधीहरू उपस्थित थिए ।

Advertisement

कार्यक्रममा देखाइएको आदिवासी जनजाति समुदायको मौलिक सांस्कृतिक प्रस्तुतिहरूले कार्यक्रमलाई थप शोभनीय र सफल बनाएको थियो । जसमा याक्थुङ लिम्बुहरूको केलाङ (च्याब्रुङ नाच), राई साकेला, तामाङ सेलो, गुरुङ, मगर, नेवारी तथा शेर्पाहरूको मौलिक सांस्कृतिक नाचसँगै चेपाङ गीतको प्रस्तुतिले कार्यक्रमलाई थप रौनक दिएको थियो । हरेक प्रस्तुतिसँगै त्यसको बिषेशता र सांस्कृतिक महत्वको बारेमा चर्चा गरेर प्रस्तोता विरेन वाइवाले कार्यक्रमलाई अझ पृथक बनाएका थिए ।

कार्यक्रममा उपस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरूबाट आदिवासी जनजातिहरूको विद्यमान सामाजिक, आर्थिक तथा राजनीतिक अवस्थासँगै मौलिक हक अधिकारको बारेमा चर्चा गर्नुका साथै स्वदेश तथा विदेशमा रहेका आदिवासी जनजातिहरूको हक अधिकार प्राप्तिको लागि हर सम्भव आपसी सहयोग र सद्भाव कायम राख्ने प्रतिबद्धता समेत जाहेर गरेका थिए । त्यस्तै नेफिन मकाउका सचिव मेघराज नयोङ लिम्बुले बार्षिक प्रतिवेदन पेश गर्दै विगतमा संस्थाले मकाउ तथा नेपालमा पुर्याएको योगदान तथा भावी रणनीति र चुनौतिबारे प्रकाश पारेका थिए ।

कार्यक्रममा विगत लामो समयदेखि मकाउमा रहि सक्रिय रूपमा समाजसेवीको भूमिका निर्वाह गर्ने कलाकार तथा महिला अधिकारकर्मी गीता मगर शेर्पा, प्रवासमा रहेर पटक–पटक नेपाललाई प्रतिनिधित्व गर्दै नेपाली खेलकुदलाई योगदान दिने तामाङ घेदुङ संघका अध्यक्ष तथा तेक्वान्दो खेलाडी विजय लामा, प्रवासमै रहेर नेपाली समुदाय र कलाको प्रतिनिधित्व गर्ने गौरी हुक्पा चोङ्बाङ, रूपा मगर, गायक कुशल गुरूङ लगायत अन्य विभिन्न क्षेत्रमा अमूल्य योगदान दिने दर्जन बढि कलाकार तथा अन्य व्यक्तित्वहरूलाई उनिहरुको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।

नेफिन मकाउले बार्षिक उत्सवकै अवसर पारेर कुमारी लिम्बुको संयोजकत्वमा आदिवासी जनजाति महासंघ मकाउ महिला समितिको समेत स्थापना भएको घोषणा गरेका छन् ।