काठमाडौं । ताप्लेजुङको दुर्गम क्षेत्रका मतदान केन्द्रहरूमा मतदान सामग्री पठाउन थालेको छ । जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका अनुसार दुर्गम क्षेत्रमा रहेको मतदान केन्द्रमा पुग्न दुई–चार दिन लाग्ने भएकाले समयमै मतदान सामग्री पठाउन थालिएको हो ।
दुर्गम क्षेत्र याङ्मा, ग्याब्ला, कालिखोला,सादेवा, आङ्खोप, पेदाङलगायत स्थानका मतदान केन्द्रमा खटिएका मतदान अधिकृतमार्फत मतपत्रसहितका सामग्री पठाएको निर्वाचन आयोगले जनाएको छ । मतदान सामग्रीहरु उक्त क्षेत्रमा खटिएका मतदान अधिकृतले जिल्ला निर्वाचन कार्यालयबाट बुझेर लगेका छन् ।
त्यस्तै याम्फुदिन, घुन्सा, ओलाङ्चुङगोला लगायत स्थानका लागि भने आज मतदान सामग्री पठाउने तयारी भइरहेको जनाइएको छ ।
नौ स्थानीय तह रहेको ताप्लेजुङमा ७३ मतदानस्थल र १२२ मतदान केन्द्र रहेका छन् ।