धनकुटा : वैशाख ३० गते भएको स्थानीय निर्वाचनको मतपरिणाम धमाधम आइरहेका छन्। अहिलेसम्म धनकुटाका ७ वटै स्थानीय तहको मतपरिणाम सार्वजनिक भइसकेको छ।
धनकुटाको धनकुटा, महालक्ष्मी र पाख्रिबास नगरपालिका तथा चौविसे, साँगुरीगढी, शहीदभूमि र छथर जोरपाटी गाउँपालिकाको मतपरिणाम सार्वजनिक भएको छ। धनकुटाका स्थानीय तहमा गठबन्धनले ४ र एमालेले ३ वटा स्थानीय तह प्रमुखमा जितेका छन्।
२०७४ सालको पहिलो स्थानीय तहको निर्वाचनमा एमालेले धनकुटाका ७ वटै स्थानीय तहका प्रमुख र उपप्रमुख जितेको थियो। त्यसपछि एमालेले धनकुटा सदरमुकाममा आयोजना गरेको विजयी जुलुसलाइ सम्बोधन गर्ने क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेका तत्कालीन जिल्ला अध्यक्ष राजेन्द्र राईलाई म्यान अफ द इलेक्सनको उपाधि दिएका थिए।
यो पटकको स्थानीय तह निर्वाचनमा माहोल फेरिएको छ। यो निर्वाचनमा धनकुटामा सात स्थानीय तहमध्ये चारवटामा गठबन्धनले बाजी मार्दा तीनवटा पालिका मात्र एमालेको पोल्टामा परेको छ। २०७४ सालको निर्वाचनमा भन्दा चारवटा त गुमायो। सँगै एमालेको लाल किल्ला समेत भत्किएको छ।
योपटक एमालेले चौबिसे गाउँपालिका, शहीदभूमि गाउँपालिका र धनकुटा नगरपालिका बाहेकका अन्य स्थानीय तहमा आफ्नो अघिल्लो पटकको बिरासत गुमाएको छ।
धनकुटाका सात पालिकामध्ये प्रमुखमा एमालेले तीनवटा स्थानीय तह प्रमुख तथा ६ वटामा उपप्रमुख जित्न सफल भयो। यता गठबन्धन चार पालिका प्रमुख तथा एक पालिकामा उपप्रमुख जित्न सफल भयो ।
अघिल्लो निर्वाचनमा कुल ६० वडा मध्ये ४३ वडामा विजयी भएको एमालले यो पटक ३१ वडामा समेटियो। त्यस्तै अघिल्लो पटक पालिका प्रमुख उपप्रमुख सहित सम्पूर्ण वडा र वडा सदस्य समेत तिजेको पाख्रिवास नगरपालिका एमालेले यो पटक प्रमुख सहित पाँच वडा र आधा वडा सदस्य गुमाउनु पर्यो।