काठमाडौं । वीरगञ्ज महानगरमा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा)का मेयरमा उम्मेदवार राजेशमान सिंह र उपमेयरमा कांग्रेसका इम्तियाज आलमको जित सुनिश्चित भएको छ ।
राजेशमान र इम्तियाज मतगणना हुन बाँकी मतभन्दा बढी अन्तरले अगाडि रहेका छन् । वीरगञ्जमा १ लाख २४ हजार ६ सय ४७ मतदाता रहेकामा ९३ हजार ७ सय ८२ मत खसेको थियो । ७७ हजार ५७७ मत गणना भइसकेको छ । अब १६ हजार २०५ मत गणना हुन बाँकी छ ।
तर, राजेशमान सिंह नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगी भन्दा १८ हजार ७५८ मत अन्तरले अगाडि छन् । यो गणना हुन बाँकी १६ हजार २०५ मतभन्दा २ हजार ५५३ मत बढी हो । त्यसैले राजेशमानको जित सुनिश्चित भएको हो । राजेशमानले ३८ हजार ४३७ र सरावगीले १९ हजार ६७९ मत ल्याएका छन् ।