नेपालगन्ज । बाँकेको नेपालगन्जस्थित फूलटेक्रामा रहेको मदरसा फैजाने मदिनामा अध्ययनरत दुई विद्यार्थीबीच चक्कु हानाहान हुँदा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा मदरसामा अध्ययनरत कास्की रुपाकोट–६ का १६ वर्षीय जामुदिन मियाँ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आफ्नै साथीले चक्कु रोपिँदा घाइते भएका उनको उपचारको क्रममा भारतमा मृत्यु भएको हो ।
बिहीबार साँझ ५ बजे मृतक मियाँ र सिराह मिर्चैयाका १२ वर्षीय मो. आशिक आपसमा खेल्दै गर्दा आशिकले समातेको चक्कु मियाको देब्रे छातीमा रोपिँदा मुटुमा चोट लागेको थियो । घाइते अवस्थामा उपचारका लागि भारतको लखनउ पु¥याइएका मियाँको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उपचारको क्रममा रहेका मियाँको शुक्रबार राति १० बजे नै मृत्यु भएको तर प्रहरीलाई शनिबार बिहानमात्र जानकारी भएको थियो ।
प्रहरीका अनुसार मदरसाले उपलब्ध गराएको सीसीटीभी फुटेजमा दुवैले छातीले एक अर्कालाई धकेलाधकेल गर्दै गर्दा मियाँलाई आशिकले देब्रे छातीमा चक्कु प्रहार गरेको देखिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ । मदरसाको तर्फबाट पनि घटनाबारेमा जानकारी गराइएको छैन ।
घटनामा संलग्न रहेका बालक प्रहरी नियन्त्रणमा रहेका छन् । प्रहरीका अनुसार पोस्टमार्टम गरेर शव आफन्तको जिम्मा लगाइएको छ । आफन्तबाट किटानी जाहेरी लिएर प्रहरी अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।