August 31, 2026, Monday
२०८३ भाद्र १५
1:37:26 pm

उदयपुरमा ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु

काठमाडाैं । उदयपुरमा ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। सोमबार बिहान साढे २ बजे कटारी नगरपालिका-१४ भदौरेस्थित सिद्धिचरण राजमार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए।

पथलैयाबाट सिमेन्ट लोड गरी सोलु हाइड्रोपावरको लागि जाँदै गरेको ना ८ ख ८२९७ नम्बरको ट्रक दुर्घटनामा परेको हो। ट्रक अनियन्त्रित भएर सडकबाट अन्दाजी १०० मिटर तल खसेको आचार्यले बताए।

‘अहिले यत्तिकै भन्न सकिने अवस्था छैन के कारणले दुर्घटना भयो भनेर,’ उनले भने। मृतकहरू चालक बारा सिम्रौनगढ उपमहानगरपालिका-१ बस्ने ३३ वर्षीय सुदिप घलान, सहचालक २५ वर्षीय निकेश खड्का, १७ वर्षीय अनोज लामा र ३७ वर्षीय राजन तामाङ छन्।

Advertisement

उनीहरूको घटनास्थलमै मृत्यु भएको हो। घटनापछि इलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी निरीक्षकसहितको टोली पुगेर शवहरू निकालेको छ। पोष्टमार्टमको लागि शव कटारी नगर अस्पताल लग्ने तयारी भइरहेको छ।