November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

देउवालाई प्रचण्ड ओलीतिर जाने हुन् कि भन्ने डर छ: सिपी गजुरेल

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सिपी गजुरेलले प्रधानमन्त्री शेरबहादुर देउवा आगामी कात्तिक मसान्तभित्रै संघ र प्रदेशको चुनाव गर्ने पक्षमा रहेको बताएका छन् ।

बुधबार काठमाडौंको माइतीघरमा पेट्रोलियम पदार्थलगायतका दैनिक उपभोग्य वस्तुमा गरिएको मूल्यवृद्धिको विरोधमा आयोजित विरोधसभामा बोल्दै उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल संघ र प्रदेशको चुनावमा एमाले अध्यक्ष केपी ओलीसँग सहकार्य गर्न जाने हुन् कि भन्ने डरले प्रधानमन्त्री देउवा सो निर्वाचन छिटो गराउने पक्षमा रहेको बताएका हुन् ।

यस्तै, अध्यक्ष गजुरेलले चुनाव जित्न र जनतालाई खुसी बनाउनेगरी सरकारले बजेट ल्याएको दावी समेत गरे । चुनावमा धाँधली गरेर जित्न सरकारले कर्मचारीहरुको तलव १५ प्रतिशत वृद्धि गरेको जिकिर समेत गरे ।

Advertisement

अध्यक्ष गजुरेलले भने, ‘अर्थमन्त्रीले बजेट पेश गरेको छ र, यसमा बहस चलिरहेको छ । धेरै पार्टीले यसलाई चुनावमा जनतालाई भ्रममा पार्न ल्याइएको दस्तावेज हो, किनभने शेरबहादुर देउवा अर्को चुनाव चाँडै गर्ने पक्षमा छन्, कार्तिक मसान्तसम्म चुनाव गरिसक्ने ।’

प्रचण्ड फेरि ओलीतिर जान्छन् कि भन्ने डरले देउवा त्यो पक्षमा गएको उनको धारणा रहेको थियो । ‘प्रचण्ड ओलीतिर जाने हुन् कि ? गइहाले भने चुनाव जितिँदैन । सरकारमा आउन सकिँदैन । त्यसकारण अव ढिलो गर्नु हुँदैन । चाँडै चुनाव गराउनु पर्छ भनेर ऊ लागेको छ ।’, उनले भने ।