न्यूयोर्क । नेपाल आदिवासी जनजाति महिला महासंघ अमेरिका (फिवना) ले आफ्नो संस्थागत दिगो विकासका लागि गर्दै आएको एक कार्यक्रम दुई बर्षपछि सम्पन्न गरेको छ । उक्त कार्यक्रम कोरोना महामारीका कारण स्थगित भएको थियो । यो बर्ष भने जुन १८ मा विन्स ब्रज पार्क न्यूयोर्कमा एक बनभोजको आयोजनाबाट सम्पन्न गरेको हो ।
सन् २०११ मा अमेरिकाको न्यूयोर्क राज्यमा विभिन्न आदिवासी जनजातिहरूको एक भेलाबाट स्थापना भएको उक्त संस्था गैर नाफामुलक संस्था अनर्तगत ५०१ सि (३) मा दर्ता भएको एक गैर नाफामूलक संस्था हो ।

स्थापनाकालदेखि यस संस्थाले आफ्ना भाषा, संस्कार, नेपाली पहिचान, नेपालमा रहेका आदिवासी जनजातिहरूको पहिचान विश्व सामु स्थापना गर्नका लागि विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै आएको छ । विशेष गरि नेपालबाट आएका न्यूयोर्कका आप्रावासी महिलाहरूलाई विभिन्न क्षेत्रमा सहयोग गर्ने र महिला अधिकारका सवालमा अन्तराष्ट्रिय स्तरका महिलाहरूसँग सहकार्य र हातेमालो गरेर विश्वभरि भएका लैंगिक विभेदको अन्त्य गर्दै समानतामूलक समाजको निमार्णमा महत्वपूर्ण टेवा दिने यस संस्थाको मूल उद्धेश्य रहेको छ ।
आप्रावासी नेपाली भाषी महिलाहरूको शसक्तिकरणका लागि फिवनाले विभिन्न अन्य संघसंस्थासँग पनि सहकार्य गर्दै आएको छ । यस बनभोज कार्यक्रममा सहभागीहरूबाट आएको योगदान यिनै कार्यक्रममा प्रयोग गरिने छ । कार्यक्रममा संस्थाका सम्पूर्ण सदस्यहरूबाट विभन्न परिकारका खानेकुराहरू उपलब्ध भए भने सोही अवसरमा विभिन्न मनोरञ्जनात्मक क्रियाकलापहरूको पनि आयोजना भएको थियो ।

उक्त कार्यक्रममा फिवनासँग सहकार्य गर्दै आएका संस्था ब्लु बटर फाउन्डेसनका पधाधिकारी लगायत अन्य सदस्यहरू तथा न्यूयोर्कमा रहेका विभिन्न नेपीलीहरूको संघसंस्थाका प्रतिनिधीहरू लगायत विभिन्न विशिष्ट व्यक्तिहरूको पनि उपस्थित रहेको थियो । यस कार्यक्रम आपसी सद्भावको विकास गर्नका लागि, विभिन्न संघ संस्थासँग समन्वय गर्नका लागि साथै नेपालबाट भर्खरै आएका कोही व्यक्तिहरू तथा एक्लो छु भन्ने सोच भएका कोहीलाई पनि हामी सबै साथमा छौ भन्ने जस्ता सामिप्यताको विकास गर्ने अभिप्रायले कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमको संयोजकत्व संस्थाकी संथापक तथा काबा आध्यक्ष इन्दिरा चोङबाङले गरेकि हुन् ।