काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले लोकतन्त्रको रक्षाका लागि आफूहरुले विद्रोह गरेको बताएका छन् । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको चौथो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले तत्कालिन अवस्थामा लोकतन्त्र संविधान र संघियताको रक्षाको लागि आफूहरुले गरेको विद्रोह जायज रहेको प्रमाणित भएको बताएका हुन् ।
‘कम्युनिष्ट पार्टी भित्र अधिनायकवाद र व्यक्तिवाद हाबी भयो, वैचारिक मन्थन, जनताका एजेण्डालाई बेवास्ता गरीयो र एमालेमा आएको अहंकारी प्रवृत्तिले गर्दा देशमाथि नै कुठाराघात भयो त्यसैले हामीले संघीयता र समावेशी राजनीतिक प्रणालीको रक्षाका लागि बिद्रोह गर्यौ ।’, उनको भनाई थियो ।
कम्युनिष्ट पार्टीले देशभक्ति, लोकतन्त्रको झण्डा उठाउँदै अधिनायकवाद र विदेशी शक्तिका सामू नझुकेकै कारण नेपालमा कम्युनिष्ट पाटी जनताको प्रिय बनेको बताउदै अध्यक्ष नेपालले देशभक्ति, लोकतन्त्र र जनजिविकाको सवाललाई केन्द्रमा राखेर पार्टी निर्माणमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए । लोकतन्त्रको मूल्यमान्यता स्वीकार्न हामीलाई जनताको बहुदलीय जनवादले नै निर्देश गरेको उनको कथन थियो ।

‘पाँचदलीय गठबन्धन गरेर हामी स्थनीय तहको निर्वाचनमा सहभागी भयौं। तर, सबैतिर गठबन्धनमा हामीलाई उचित स्थान दिइएन र हामी एक महानगर, एक उपमहानगरसहित केही स्थानमा विजयी भयौं । यसले हामीलाई बलियो संगठन निर्माण गर्ने शिक्षा दिएको छ । अब हामी सबै तहमा पार्टी बिस्तारमा लाग्नु पर्छ ।’ उनको भनाई थियो । अध्यक्ष नेपालले आगामी प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा ठोस योजनाका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
अहिलेको मूल्यवृद्धिले जनताको ढाड सेकेको छ । भ्रष्टिकरण बढेको छ । राज्यले कम मुनाफा लिएर भए पनि जनतालाई राहत दिनुपर्ने उनको धारणा थियो ।
काठमाण्डौको बवरमहलस्थित कार्की व्याक्वेटमा जारी बैठकमा अध्यक्ष नेपालले चौतिस पेजको राजनैतिक तथा सांगठानिक प्रतिवेदन पेश गरेका थिए ।