November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

नेपालमा जलविद्युतको प्रचुर सम्भावना छ: मन्त्री भुसाल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बिजुली निर्यात गरेर व्यापार घाटा न्यूनीकरण गर्न सकिने बताएकी छन् । आज ललितपुरमा आयोजित कार्यक्रममा उनले सो कुरा बताएकी हुन् ।

मन्त्री भुसालले नेपालमा जलविद्युतको प्रचुर सम्भावना रहेको र भविश्यमा अर्बौं रुपैयाँको बिजुली निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न सकिने उल्लेख गरिन् ।

पछिल्लो एक महिनामा नेपालले रु एक अर्ब ७२ करोड बराबरको बिजुली भारत निर्यात गरेको उनको भनाइ छ । नेपाल विद्युत् प्राधिकरणले विभिन्न पाँच आयोजनाबाट उत्पादित ३६४ मेगावाट बिजुली भारत निर्यात गरिरहेको छ । प्राविधिकरुपमा ४३ हजार मेगावाट बिजुली उत्पादन गर्न सकिने विभिन्न अध्ययनले देखाएका छन् ।

Advertisement

कृषि, जलविद्युत् र पर्यटन क्षेत्र नै अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै मन्त्री भुसालले जलविद्युतको उचित विकास गरेर देशलाई समृद्ध बनाउने सबैको जिम्मेवारी रहेको बताइन् ।

आगामी दुई वर्षभित्र देशभर विद्युतीकरण गर्ने सरकारको लक्ष्य रहेको उल्लेख गर्दै मन्त्री भुसालले त्यसका लागि जलविद्युत्, सौर्यलगायत वैकल्पिक ऊर्जाका स्रोतको अधिकतम प्रयोग गरिने बताइन् ।