November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

नेकपा एकता राष्ट्रिय अभियानबाट वामदेव गौतम निष्कासित

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानबाट वामदेव गौतम निष्कासित भएका छन् । अभियानमा आवद्ध चार दलले संयोजक वामदेव गौतमलाई निष्कासन गरेको हो ।

गौतमलाई अभियानमा आवद्ध समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी), आम नेपाली पार्टीका शीर्ष नेताको बैठकले ५ बुँदे आरोप लगाउँदै निष्कासन गरेको जनाइएको छ ।

गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानले ११ असारमा ललितपुरको धोविघाटस्थित सिद्धार्थ कटेजमा दोस्रो भेला गरेको थियो ।

Advertisement

शनिबार सतुंगलस्थित एक पार्टी प्यालेसमा चार पार्टीको शीर्ष नेताको बैठकले गौतमलाई बहुमतबाट निष्कासन गरी सचिवालय सदस्य युवराज सफलको संयोजकत्वमा ११ सदस्यीय सचिवालय समिति गठन गरेको छ ।

गौतमलाई सांगठनिक अराजकता, निरङकुश, तानाशाही शैली, चरम अवसरवादी चरित्र र अराजनीतिक व्यवहार प्रस्तुत गरिएको, अहंकारवादी सोच र एकलौटी निर्णय गरिएको, जालझेल, छलछाम, षड्यन्त्र र तिकडमबाजी कार्यशैली अपनाइएको, नेकपा एकता राष्ट्रिय अभियानमा आबद्ध दलहरुको आडमा शक्ति बनाई सो शक्तिको चरम दुरुपयोग गरी उल्लेखित शक्तिहरुलाई सिध्याउने गतिविधि गरिएको र सम्पूर्ण बामपंथी तथा समाजवादी शक्तिलाई बृहत कम्युनिष्ट एकतामा जोड्ने योजना बमोजिम नेकपा एकता राष्ट्रिय अभियान गठन गरिएकोमा संयोजक कमरेड बामदेव गौतमले सो निर्धारित उद्धेश्य विपरीत अभियानलाई सत्ता, शक्ति, पद प्राप्तिको लागि बार्गेनिङको माध्यम बनाएको आरोप लगाएका छन् ।