November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

आरोही जिरेललाई युवा संघको तारा अंकित झण्डा हस्तान्तरण

काठमाडौं । युवा संघ नेपालका अध्यक्ष नरेश शाहीले हिमाल आरोही लालवहादुर जिरेललाई संघको तारा अंकित झण्डा हस्तान्तरण गरेका छन् । सोमबार संघको केन्द्रीय कार्यालय बुद्ध नगरमा आयोजित कार्यक्रममा अध्यक्ष शाहीले आरोही जिरेललाई आरोहणको सफलताको शुभकामना सहित झण्डा हस्तान्तरण गरेका हुन् ।

सर्वोच्च शिखर सगरमाथा सहित साना ठूला थुप्रै हिमालको सफल आरोहण गरिसकेका हिमाल आरोही जिरेल किर्गिस्तानको लेनिन पिक चढ्न किर्गिस्तान जान लागेको र उक्त हिमालमा पार्टीको चुनाव चिन्ह कलम र युवा संघको झण्डा फहराउने इच्छा व्यक्त गरेकाले उनलाई झण्डा हस्तान्तरण गरिएको संघका महासचिव दिपक जीएमले बताए ।

एकीकृत समाजवादीको बागमती प्रदेश सम्पर्क समन्वय कमिटीका सदस्य समेत रहेका जिरेल प्रसिद्ध हिमाल आरोही हुन् । स्थानीय निर्वाचन २०७९ मा जिरी नगरपालिका वडा नं. ४ मा वडा अध्यक्षको उम्मेद्वार समेत रहेका उनले यस अघि सर्वोच्च शिखर सगरमाथा २ पटक आरोहण गरि सकेका छन् ।

Advertisement

उनले मनास्लु हिमाल एकपटक, आमा डवलम ३ पटक पुमरी एक पटक, मेरा पिक ५ पटक सिंगा चुली एकपटक, टेनपिक २ पटक ,दम्पोस पिक एकपटक, लार्के पिक एकपटक, अम्विगेप्चेन एकपटक, आइसल्याण्डपिक एक सय २० पटक लवुजेपिक ३० पटक,सोलु पिक एक पटक, लाङसिसरी एकपटक, नयाँकाङ ३ पटक, एलापिक ३ पटक, रमुदङ एक पटक,खाम्सेकु एकपटक लगायत २६ वढी हिमाल रोहण गरिसकेको बताइएको छ । नेपाल वाहेक किर्गिस्थानको लेनिन पिक यस अघि पनि चढी सकेका छन् ।

झण्डा हस्तान्तरण कार्यक्रममा अध्यक्ष शाही सहित संघका महासचिव जिएम, उपमहासचिव अशोक दाहाल, प्रवक्ता सन्जिप राई, कार्यलय प्रमुख नरेश गिरि, कोषध्यक्ष दिपक दुवाडी, स्थाइ कमिटी सदस्य रेखा लोप्चन, विशाल खत्री लगायतको उपस्थिति थियो ।

अध्यक्ष शाहीले दोलखा जिरी निवासी जिरेललाई आरोहण सफलताको हार्दिक शुभकामना सहित नेपालको पहिचान गराउन गरेको प्रयासको प्रशंसा गरेका थिए ।