काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ ।
बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल तथा पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले ‘रेल्वे विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । ‘रेल्वे विधेयक, २०७९’ माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने र पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने समेत सम्भावित कार्यसूची छ ।

यस्तै, बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङले ‘औषधी (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् भने सो विधेयकमाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् ।
मन्त्री खापुङले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव गर्ने र प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् ।
आजैको बैठकमा मन्त्री खापुङ्गले सो विधेयकलाई पारित गर्न प्रस्ताव गर्ने सम्भावित कार्यसूची छ ।