काठमाडौं : जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जनता समाजवादी पार्टी (जसपा) को पुनर्गठनका लागि आह्वान गरेका छन्।
गएराति वक्तव्य जारी गरी उनले पार्टी रूपान्तरणमा लागेका केन्द्रीय सदस्यलगायत सबै तहका नेता–कार्यकर्तालाई पार्टी पुनर्गठनका लागि आह्वान गरेका हुन्।
पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफूसहित ९ जना सदस्यहरूलाई गरेको कारबाहीको विरोध गर्दै उनले अब पार्टी पुनर्गठनको विकल्प नरहेको बताएका छन्। उनले आफूसहितका नेतामाथि गरिएको कारबाहीको भर्त्सना गर्दै उक्त निर्णय खारेजीको माग गरेका छन्।
अध्यक्ष यादवले पार्टीलाई एकताबद्ध बनाउन पहल नगरेर स्वेच्छाचारी शैलीमा अवैधानिक, अराजनीतिक र अनैतिक रूपमा आफूहरुलाई कारबाही गरेको भट्टराईको आरोप छ।
विवाद चुलिँदै गएपछि अध्यक्ष यादव र डा. भट्टराई पक्षले केही दिनअघि छुट्टाछुट्टै केन्द्रीय समितिको विस्तारित बैठक गरेका थिए। यससँगै वीरगञ्जमा बसेको बैठकमा अध्यक्ष यादवले संघीय परिषद् अध्यक्ष भट्टराईसहित ९ जनालाई कारबाही गरेका थिए।