November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

खेलकुद महासंघ समाजवादीले इटहरी रङ्गशालामा वृक्षारोपण

इटहरी । नेपाल खेलकुद महासंघ समाजवादीको सुनसरी जिल्ला कार्यसमितिको आयोजनामा सुनसरीको इटहरी रङ्गशालामा सोमबार वृक्षारोपण कार्यक्रम गरिएको छ । वृक्षारोपण कार्यक्रमको उद्घाटन नेपाल खेलकुद महासंघ समाजवादीका संघीय अध्यक्ष तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य केशव कुमार बिष्टले गरेका थिए ।

नेपाल खेलकुद महासंघ समाजवादीका सुनसरी जिल्ला अध्यक्ष विकास बिष्टको अध्यक्षतामा भएको वृक्षारोपण कार्यक्रममा सोमबार सिरिस, मसला, खयर लगायतका ५ प्रजातिका बिरुवाहरू रोपिएको थियो ।

हरित रङ्गशाला बनाएर खेलाडी स्वस्थ वातावरणमा खेल खेल्न पाउन् भन्ने हेतुले रङ्गशालामा वृक्षारोपण गरिएको खेलकुद महासंघ समाजवादीका सुनसरी जिल्ला अध्यक्ष विकास बिष्टले जानकारी दिए । वृक्षारोपण कार्यक्रममा रामधुनी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष घनश्याम चौधरीको समेत उपस्थिति रहेको थियो ।

Advertisement

नेपाल खेलकुद महासंघ समाजवादीका सदस्य, नेकपा (एकीकृत समाजवादी) इटहरी उपमहानगर कमिटीका इन्चार्ज केवल फुयाँल , सहइन्चार्ज रमेश खत्री, अध्यक्ष गणेश बुढाथोकीलगायत सयभन्दा बढी खेलाडीहरूको कार्यक्रममा सहभागिता रहेको थियो ।

वृक्षारोपण कार्यक्रमको उद्घाटन गर्दै खेलकुद महासङ्घका अध्यक्ष केशवकुमार बिष्टले खेल जगतलाई अगाडि बढाउन र इटहरी रङ्गशालालाई एक नम्बर रङ्गशाला बनाउन आफ्नो सहयोग सँधै रहने बताउँदै वृक्षरोपणका कार्यलाई निरन्तरता दिनुपर्ने बताए ।
महासंघले सोमबार मात्र ३ सयको हाराहारीमा बिरुवा रोपेको खेलकुद महासङ्घका सुनसरी अध्यक्ष विकास बिष्टले बताए ।