पाँचथर । विवेकशील साझा पार्टीको अध्यक्षमा पाँचथरकी समीक्षा बाँस्कोटा चयन भएकी छिन् । आइतबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले बाँस्कोटालाई अध्यक्ष चयन गरेको हो । बाँस्कोटा पाँचथरको फिदिम ७ रानीटारमा जन्मेकी हुन् ।
सो पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले स्थानीय तह निर्वाचनको पराजयको जिम्मेवारी लिँदै गत जेठमा राजीनामा दिएका थिए । त्यसयता अध्यक्ष पद खाली थियो । बैठकले मिश्रको राजीनामा स्वीकृत गरेको छ ।
उनी कांग्रेसका पुराना नेता तथा पूर्व सहायक गृहमन्त्री दीपक प्रकाश बाँस्कोटाकी छोरी हुन् ।
उनी यसअघि पार्टीको कार्यसम्पादन समिति सदस्य थिइन् । उनले काठमाडौ स्कुल अफ ल बाट कानूनमा स्नातक गरेर अमेरिकाबाट कानूनमै स्नातकोत्तर गरेकी छिन् । उनी स्थानीय तहको चुनावमा काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बनेकी थिइन् ।
त्यस्तै, विवेकशील साझाको केन्द्रीय समिति बैठकले संजीववल्लभ भट्टराईलाई संयोजक चयन गरेको छ । उनी पनि कार्यसम्पादन समिति सदस्य थिए ।