काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी प्रदेश र प्रतिनिधिसभा चुनावमा गठबन्धन गर्ने बताएका छन् । सोमबार पार्टीबाट निर्वाचित भएका स्थानीय पालिका प्रमुख र उपप्रमुखहरुको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले सो कुरा बताएका हुन् ।
यस्तै, ४ मंसिरको चुनावबाट काँग्रेसलाई सबभन्दा ठूलो पार्टी बनाउनुपर्ने देउवाको भनाई थियो । उनले २०७४ सालको प्रदेश र प्रतिनिधसभा निर्वाचनमा एक्लै लड्दा काँग्रेसले राम्रै मत पाएपनि अरुले गठबन्धन गरेका कारण जित्न नसकेको बताउदै स्थानीय चुनावमा पनि तालमेल गरेर सफलता पाएको हुँदा फेरि गठबन्धन गरेर सफलता हासिल गर्ने बताए ।
देउवाले गठबन्धनमा रहेका दलहरुको जनाधार हेरेर तालमेलको गृहकार्य गर्न कार्यदल गठन गरिसकेको समेत बताए । बढी सिटमा उम्मेदवारी दिने भन्दा पनि बढी सिट जित्नु ठूला कुरा भएको उनको भनाई थियो ।