November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

बञ्चरे डाँडाँ ल्यान्डफिल्ड प्रभावितले स्थगित गरे आन्दोलन

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको ल्याण्डफिल्ड साइट बञ्चरे डाँडाँका प्रभावितले तत्काललाई आन्दोलन स्थगितको घोषणा गरेका छन् । उनीहरुले सरकारले मागेको तीन महिना अवधि हेरेर भावी कदम चाल्ने प्रष्ट पारेका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै बञ्चरे डाडाँ फोहोर ल्याडफिल्ड साइट प्रभावीत क्षेत्र व्यवस्थापन सरोकार समितिले सरकारले प्रभावित क्षेत्रमा परेको असर र समस्या समाधानको उपायबारे प्रतिवेदन तयार पार्न ३ महिना समय मागेपछि आन्दोलन हाललाई रोकेको जानकारी दिएको हो ।

गत साउन २९ गते शहरी विकास मन्त्रालयले प्राविधिक परामर्श टोली गठन गर्ने र उक्त टोलीले तयार पारेको प्रतिवेदनअनुसार काम अघि बढाउने निर्णय गरेसँगै आन्दोलनका कार्यक्रम हाललाई स्थगित् गरिएको समितिका संयोजक श्रीराम ढुंगानाले जानकारी दिए । सरकारले गरेको निर्णयमा प्राविधिक टोलीले ३ महिनाभित्र तथ्यगत रिपोर्ट तयार गर्ने र सो रिपोर्टको आधारमा काम अघि बढाइने उल्लेख गरिएको छ ।

Advertisement

उनले भने,‘सरकार र शहरी विकास मन्त्रालयले ३ महिनाभित्र प्राविधिक प्रतिवेदन तयार पार्ने र त्यसलाई विधानको रुपमा प्रयोग गरिने भनेसँगै आन्दोलन अहिलेलाई स्थगित गर्न तयार भयौ ।’ उनले आगामी तीन महिनासम्म सम्पुर्ण सिस्डोल फोहोर व्यवस्थापन संघर्ष समितिहरुले आफ्नो आन्दोलन रोकेर प्राविधिक टोलीलाई सहयोग गर्ने बताए ।

त्यस्तै, स्थानीय मनोज तामाङले फोहोरको गाडी गुड्ने सडकमा फोहोर धेरै चुहिएको भन्दै उक्त सडकमा तत्काल पानी हालेर सफा गर्न सरकारसमक्ष आग्रह गरे । फोहोरमैला संकलन गरेर सरकारले गुठीको जग्गा नियन्त्रणमा लिएको उनको भनाई थियो । गुठीको जग्गा स्थानीयलाई उपभोग गर्न मिल्नेगरि व्यवस्थित गर्नुपर्ने उनको धारणा छ ।

यसैगरी, स्थानीय युवा हरि लामाले अंग्रेजी भाषामा लेखिएको सरकारको निर्णयको विरोध गरे । सरकारले सर्वसाधारणले नबुझ्ने भाषामा जनतालाई भ्रममा पार्न खोजेको टिप्पणी गर्दै उनले सबै जनताले बुझ्ने सरल भाषामा सहमति तथा सम्झौताका बुँदाहरु बाहिर ल्याउनुपर्ने माग गरे ।