November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

सत्तारुढ दलबीच सिट बाँडफाँटमा सकसः ८५ देखि ९० सिटमा कांग्रेसको दाबी

काठमाडौं । सत्तारुढ गठबन्धनको कार्यदलले सिट बाँडफाँटको प्रस्ताव ल्याउने जिम्मा संयोजक कृष्णप्रसाद सिटौलालाई दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले २०७४ को निर्वाचन र २०७९ को स्थानीय निर्वाचनका आधारमा सिट बाँडफाँटको प्रस्ताव ल्याउन कांग्रेस नेता सिटौलालाई जिम्मा दिएको हो ।

एकीकृत समाजवादी पार्टी २०७८ मा मात्र बनेकाले उसको हकमा विशिष्ट रूपमा हेरिने कार्यदलका सदस्य एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले संचारकर्मीहरुलाई जानकारी दिए । बुधबार दिउँसो ४ बजे बस्ने बैठकमा सिट बाँडफाँटको प्रस्ताव ल्याउने जिम्मा संयोजकलाई दिइएको उनले जानकारी दिए । तर सिट बाँडफाडको मोडालिटीका विषयमा अहिलेसम्म प्रारम्भिक छलफल समेत भएको छैन ।

मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्ने विषयमा गठबन्धन दलहरुबीच सिट बाँडफाँटमा व्यापक उल्झन हुन सक्ने देखिएको छ । सिट बाँडफाँडको मोडालिटीबारे अहिलेसम्म दलहरुबीच छलफल भएकै छैन । प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकतर्फ १ सय १० सिटको संवैधानिक व्यवस्था छ ।

Advertisement

‘चुनाव विषयमा गठबन्धन स्पष्ट छ, प्रतिनिधि सभासम्म नै गठबन्धनसँगै जान्छ,’ सत्ता गठबन्धनमा आबद्ध माओवदी केन्द्रका नेता वर्षमान पुन भन्छन्, ‘आन्तरिक रूपमा के कसरी सिट बाँडफाँट गर्ने ? भन्ने विषयमा अब छलफल सुरु हुन्छ ।’

गठबन्धनमा रहेका दलका शीर्षनेताबीच भएको यसअघिको सहमतिअनुसार गत स्थानीय तह निर्वाचनमा गठबन्धनमा आबद्ध दलले प्राप्त गरेको मतका आधारमा सिट बाँडफाँटमा अघि बढ्ने सहमति भएको बुझिएको छ । उच्च स्रोतका अनुसार प्रतिनिधि सभा निर्वाचनका लागि सत्ता गठबन्धनको प्रमुख घटक कांग्रेसले ८५ देखि ९० सिटमा दाबी गरेको छ ।

यसैगरी, नेकपा माओवादी केन्द्रले ५० भन्दा बढी सिटमा अपेक्षा राख्दा जनता समाजवादी पार्टी नेपाल र नेकपा एकीकृत समाजवादीले आन्तरिक रूपमा ३०÷३० सिटभन्दा बढीमा दाबी राख्ने योजना बनाएका छन् । तर, दाबी गरेअनुसार सिट पाउने अवस्था नभएकाले माओवादी केन्द्रले ४०, जसपाले २३, नेकपा एसले २० सिट पाउने अवस्था रहेको बताइन्छ ।

त्यस्तै, सत्ता गठबन्धनमा रहेको सबैभन्दा सानो दल राष्ट्रिय जनमोर्चाले पाँच सिट माग गर्न थालेको छ । तर, उसले बढीमा प्रत्यक्षतर्फ दुई सिट पाउन सक्ने सम्भावना छ । गठबन्धनभित्र एकीकृत समाजवादी र जसपाको सिट बाँडफाँटमा भने समस्या हुने देखिएको छ । सिट बाँडफाँडमा विगतमा भएको कमजोरी नदो¥याउन कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहमत रहँदै आएका छन् ।