काठमाडौं । बञ्चरेडाँडामा स्थानीयको अवरोध हटेपछि फोहोर विसर्जन सहज भएको छ । बिहीवार काठमाडौं महानगरपालिका, स्थानीय बासिन्दासहित सरोकारवालाबीच सहमति भएपछि काठमाडौंबाट फोहोर बोकेका गाडी नियमित रुपमा बञ्चरेडाँडा पुग्न थालेका हुन् ।
काठमाडौं महानगरपालिकाका अनुसार आज बिहानैदेखि त्यहाँ फोहर विसर्जन भइरहेको र काठमाडौँबाट पनि गाडी पुगिरहेको छ । महानगरले आजदेखि दैनिक तीन सय गाडीबाट फोहोर विसर्जनको तयारी गरेको छ ।
यस्तै, ल्याण्डफिल्ड साइटमा पर्ने धादिङको धुनिबेसी नगरपालिका–१ का बासिन्दाले पनि आज फोहर बोकेका गाडीलाई रोकेका छैनन् । महानगरपालिकाले एक हप्ताभित्र माग पूरा गर्ने प्रतिबद्धता जनाएको र यो अवधिसम्म कुनै अवरोध नगर्ने स्थानीयले बताएका छन् ।
ल्याण्डफिल्ड साइटमा विरोध प्रदर्शनका क्रममा घाइते भएकाको उपचार खर्च महानगरले बेहोर्ने, पक्राउ परेका एक जनाको पनि रिहाइ हुुनुपर्ने, फोहर बोकेर जाने गाडीले बाटोमा लिचेड चुहाउन नपाउने, बञ्चरेडाँडामा फोहर थुपार्ने ठाउँमा गन्ध नआउने औषधि छर्किनु पर्ने सार्थ गएको जेठ २६ गते भएको सहमति कार्यान्वयन गर्दै जानु पर्ने सहमति भएको जनाइएको छ ।