November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

बनिसकेको कम्युनिष्ट पार्टीलाई ओलीले भताभुङ्ग पारे: माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बनिसकेको कम्युनिष्ट पार्टीलाई केपी ओलीले भताभुङ्ग पारेको बताएका छन् । पार्टीको उपत्यका युवा विशेष जिल्ला कमिटीको तिज विशेष सांस्कृतिक कार्यक्रम भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो आरोप लगाएका हुन् ।

नेपालले कम्युनिष्टहरू एकैठाउँमा आउनुपर्ने र सबैलाई समेट्ने नेता चाहिने उल्लेख गर्दै भने, ‘ओलीले पार्टी फुटाएर संविधान कुल्चिए । संसद् विघटन गरे । अदालतको फैसलाको नाममा कम्युनिष्ट पार्टीलाई टुक्राइ दिए । हामी चट्टानी अडानमा उभिएर नयाँ पुस्तालाई अगाडि बढायौँ । हामीले देशभर संगठन बनाएर पार्टीको उपस्थिति देखाइसकेका छौँ ।’

अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीको विकल्प नै नभएको बताउँदै चुनाव माध्यम र साधन मात्र भएको भन्दै जनतादेखि जनतासम्म पुग्नको लागि राजनीति गर्ने निर्देशन दिए ।

Advertisement

अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलन र पार्टीहरूमा विकृति फैलिएको बताउँदै ‘म वादी’ संस्कृति बढेकाले ‘हामीवादी’ सोच नै हराइसकेको बताए । उनले देश र जनताको हितलाई केन्द्रमा राखेर काम गर्न नेता कार्यकर्तालाई निर्देशनसमेत दिएका छन् ।

‘सबैले मम भनेर आफैले सुधारेर अगाडि बढ्नुपर्छ । बाटो बिराएको मान्छे जनताबाट अलग हुन्छ । अहिले ठूलो कुरा गर्ने तर पैसा देखेपछि लोभ गरिहाल्ने संस्कृति बढेको छ । त्यसैले नेताहरूबाटै भ्रष्टाचारको अन्त्य र सुशासनको पक्षमा लाग्ने निर्णय गर्नुपर्छ । नेताले मात्रै होइन प्रधानमन्त्रीबाट पनि गर्नुपर्छ’, उनले भने । ‘नेता ठिक भइसकेपछि मात्रै अरु ठिक हुन्छ । नेता नै भ्रष्ट भएपछि अरुले टेर्न छाड्छन् । असल आदर्शमा लागे कसैले औँला उठाउन सक्दैन । नेपालले फेरी थपे ।

उनले आफूहरू आठ जना मिलेर २०३२ सालमा ‘कोओर्डिनेसन केन्द्र’को स्थापना गरेको बताए । जसमध्ये तीन जनाले राजनीति छाडेको र तीन जना एकीकृत समाजवादीमा रहेको पनि बताए ।

‘केपी ओली त १२ वर्षपछि त्यो बेला जेलमा थिए उनी । को के बनेको १२ वर्षपछि बल्ल केन्द्रीय कमिटीका सदस्य बनेका हुन् । २०४४ सालमा उनी केन्द्रीय कमिटीका सदस्य बनेका हुन् २०३२ मा होइन,’ उनले भने ।कम्युनिस्ट पार्टीको एकीकरण तथा निर्माणमा केपी ओलीको कुनै योगदान नरहेको नेपालले दाबी गरे ।