काठमाडौं । ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत कांग्रेस नेता, समाजवादी चिन्तक एवम सांसद प्रदीप गिरिको स्वास्थ्य लाभको कामना गर्दै पशुपतिनाथ परिसरमा प्राथना गरिएको छ ।
नेपाली कांग्रेस वाग्मती प्रदेश समितिको संयोजनमा भएको कार्यक्रममा गिरिको स्वास्थ्य लाभका लागि पशुपति मन्दिरको मुल ढोकामा मैनबत्ती बालेर मन्त्र उच्चारण गरिएको कांग्रेस बाग्मती प्रदेश सदस्य कुमार दुलालले नेपालमामिलालाई जानकारी दिए । त्यस्तै मन्दिर परिसरकै आरती स्थलमा पनि स्वास्थ्य लाभका लागि प्राथना गरिएको उनले जानकारी दिए ।
कार्यक्रममा नेपाली कांग्रेस बाग्मती प्रदेश सभापति इन्द्र वानियाँ, सहमहामन्त्री हरिशरण श्रेष्ठ, प्रवक्ता तिलक रुवाली, कोषाध्यक्ष तिर्थमान श्रेष्ठ, बाग्मती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामा, राज्यमन्त्री कल्पना नेपाली, कांग्रेस प्रदेश सदस्यहरु कुमार दुलाल, सानुकान्छा श्रेष्ठ, नानु दाहाल, सरु थापा, कल्पना खड्कालगायतको उपस्थिति थियो ।
यता, नेपाली कांग्रेस संसदीय दलले पनि एक विज्ञप्ति जारी गर्दै गिरिको स्वास्थ्य लाभको कामना गरेको छ । गिरिकी पत्नी भारती सिलवाल गिरिले शनिबार वक्तव्य जारी गर्दै उनको स्वास्थ्य लाभको प्रार्थना गर्न अपिल समेत गरेकी थिइन ।
भारतमा क्यान्सरको उपचार गरेर फर्किएका गिरि झण्डै एक महिनाअघि ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना भएका थिए । क्यान्सरका कारण देखिएको समस्या र निमोनिया भएर अस्पताल भर्ना भएको भारतीले जानकारी दिएकी छन् । अहिले निमोनिया बढेको जनाइएको छ ।
