काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेले नागरिकता विधेयकबारे भ्रमपूर्ण प्रचार गरेको बताएका छन् । बुधबार बिहान चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले एमालेले गलत उद्देश्यले विधेयकको प्रचार गरेको बताएका हुन् ।
एमालेले प्रचार गरेजस्तो नागरिकता विधेयक राष्ट्रघाती नभएको बताउदै उनले भने, ‘आमाबुवा दुवै नेपाली भएका नागरिकका सन्तानले नागरिकता पाउने कुरा मात्रै हो । उनीहरू सबै अवसरबाट बञ्चित भए । त्यो स्थितिको अन्त्य गर्ने कुरा हो, त्यसकारण यसलाई राष्ट्रघाती भन्नु पाखण्डबाहेक केही हुँदैन ।’
प्रचण्डले नागरिकता विधेयक संसदमा ल्याउँदा एमालेले राष्ट्रघाती भन्नु बेइमानी र अनैतिकताबाहेक अरु केही नभएको बताए । यहि विधेयकलाई केपी ओली प्रधानमन्त्री हुँदा अध्यायदेशका रुपमा ल्याइएको उनले स्पष्ट पारे । जसले विधेयक अध्यादेशका रुपमा लिएका थिए तिनिहरूले राष्ट्रघाती भन्दा बेइमानी र अनैतिकताबाहेक अरु केही नभएको प्रचण्डको भनाइ थियो ।
प्रचण्डले एमालेले चुनाव नजिकिएका बेला राष्ट्रवादको मुकुन्डो लगाएर भोट बटुल्नका लागि जनतालाई भ्रम पार्न यस्तो गलत प्रचार गरेको टिप्पणी समेत गरे ।