काठमाडाैं । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलले बिहीबार बिहान प्रतिवेदन शीर्ष नेताहरूलाई बुझाउने भएको छ।
बुधबार बालुवाटारमा बसेको कार्यदल बैठकमा सिट बाँडफाँटबारे अहिलेसम्म भएका सहमति र असहमतिका बुँदा समावेश गरेर प्रतिवेदन शीर्ष नेताहरूलाई बुझाउने निर्णय भएको थियो।
कार्यदल सदस्य, सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बिहीबार बिहान ९ बजे शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाउने बताए।
कार्यदल सिट बाँडफाँटबारे करिबकरिब सहमतिमा पुगेको उनले बताए। कुन पार्टीले कति सिट लिने गरी सहमति नजिक पुगिएको भन्नेबारे उनले खुलाएनन्।
गठबन्धनमा आबद्ध दलहरूले आगामी आमनिर्वाचनमा चुनावी तालमेलको खाका बनाउन कार्यदल गठन गरेका थिए।
कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहेका कार्यदलमा कांग्रेसबाट महामन्त्री गगनकुमार थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं पार्टीका नेता ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र) बाट महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन छन्।
यसैगरी नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट नेताहरू रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट नेताहरू पुरी र आनन्द शर्मा कार्यदल सदस्य छन्।