काठमाडौं : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची पेश गर्ने पहिलो दिन आज निर्वाचन आयोग दलहरूलाई कुरेको कुरै भएको छ।
दलहरूलाई भने सांसद बन्ने आकांक्षी बढी भएपछि उम्मेदवारको टुङ्गो लगाउन सकस परेको छ। केही साना दलले भने आजै आयोगको कार्यालय पुगेर बन्दसूची बुझाएका छन्।
आइतबार प्रतिनिधिसभामा २ साना दल र प्रदेशसभा सदस्यअन्तर्गत ३ दलले बन्दसूची बुझाएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। उनका अनुसार प्रतिनिधिसभाका लागि नेपाल समावेशी पार्टी र तराई मधेश लोकतान्त्रिक पार्टीले बन्दसूची पेश गरेका छन्।
प्रदेशसभाका लागि प्रदेश नम्बर १ मा किराँत खुम्बुवान साझा पार्टी, बागमतीमा तामाङशाली पार्टी र मधेस प्रदेशमा तराई मधेश लोकतान्त्रिक पार्टीले बन्दसूची पेस गरेका छन्।
निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारहरूको बन्दसूची बुझाउने दलका रुपमा नेपाली समावेशी पार्टी पहिलो दल बनेको छ। ठूला दलहरूलाई सूची बुझाउन हम्मे हम्मे परिहरहेका वेला नेपाली समावेशी पार्टीले आज आयोगमा पुगेर उम्मेदवारहरूको बन्द सूची दर्ता गराएको हो।
बन्दसूची दर्ता भएसँगै निर्वाचन अधिकृतको कार्यालयले आगामी असोज ४ गते दिउँसो २ बजे बन्दसूचीको जाँचबुझका लागि बोलाएको छ।