November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

हाम्रो पार्टीको ध्यान जनता, समाज र देशप्रति केन्द्रित छ: माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा गरिबी निवारण गर्ने आफ्नो पार्टीको चाहना भएको बताए । सोमवार पार्टी केन्द्रीय कार्यालय अशोकनगरमा आयोजित नेपाल मगर सङ्घ (समाजवादी) को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टीको चाहना नेपालबाट गरिबी निवारण गर्नु भएको बताएका हुन् ।

उनले समाजमा रहेका विकृति र विसङ्गतीहरूलाई पनि अन्त्य गर्ने आफूहरूको चाहना रहेको बताए । ‘हामी गरिबी निवारण गर्न चाहन्छौँ । हामी समाजमा रहेका विकृति, विसङ्गती अन्त्य गर्न चाहन्छौँ । गरिबी, अभाव र बेरोजगारीलाई समाप्त पार्न चाहन्छौँ । जनताको मुहारमा उज्यालो बनाउन चाहन्छौँ । त्यसको निम्ति हामी देशको साधन, स्रोतको अधिकतम सदुपयोग गर्न चाहन्छौँ । हाम्रो पार्टी देश हितको रक्षा, जनताको सेवामा समर्पित हुने र समाजको परिवर्तन गर्ने उद्देश्य लिएर राजनीतिमा आएको हो ।’,अध्यक्ष नेपालले भने ।

अध्यक्ष नेपालले कार्यकर्तालाई त्याग, सर्मपण र समाज रूपान्तरणको भावनाले राजनीतिमा लाग्न आग्रह पनि गरे । जनताको मुहार उज्यालो बनाउने आफूहरूको लक्ष्य भएको उनको भनाइ थियो ।

Advertisement

अध्यक्ष नेपालले नेपालमा जातजाति, भाषा, धर्म, संस्कृतिमा भएको विविधताको संरक्षण गरिने भन्दै कुनैपनि जातजातिका बीचमा हुने भेदभावलाई अन्त्य गर्नुपर्ने बताए । जात जाति भाषा धर्म संस्कारमा भएको विविधता नै नेपालको गहना भएको भन्दै त्यसको संरक्षण आजको आवश्यकता भएका औँल्याए । जनता समाज र देश प्रति आफ्नो पार्टीको ध्यान केन्द्रित भएको भन्दै अध्यक्ष नेपालले मगर समुदायले खेलेको नेपालको रक्षा र विकासमा खेलेको भूमिकाको प्रशंसा गरे ।