मकवानपुर । सत्ता गठबन्धनमा आबद्ध तीन ठूला राजनीतिक दलको बैठक बसेको छ । मनहरीमा सोमबार बिहान बसेको बैठकमा मकवानपुर प्रतिनिधि निर्वाचन क्षेत्र २ अन्तर्गतका दलका नेताहरुको उपस्थिति रहेको थियो ।
बैठकले तत्कालीन प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरेपछि लोकतान्त्रिक शक्ति र इमान्दार बामपन्थी शक्तिहरु एक भएर संविधान रक्षाका लागि गठबन्धन गरेको स्मरण गराउँदै अबको निर्वाचनमा संविधान मिच्ने पक्षधरलाई परास्त पार्न सबैखाले शक्ति परिचालन गर्ने निर्णय गरेको छ । बैठकले ओली र ओलीका अगुवापछुवाहरु विभिन्न बहानामा जनतामाझ आउने र गठबन्धन दलप्रति भ्रम फिजाउन सक्नेतर्फ चनाखो हुनुपर्ने भन्दै संविधान रक्षा गर्ने शक्तिहरु एक भएर मंसीर ४ गतेको निर्वाचनमा संविधान विरोधी शक्तिलाई परास्त गर्नुपर्ने सन्देश वडा र तल्लो तहमा समेत पु¥याउन आ–आफ्ना दलहरुमार्फत भूमिका निर्वाह गर्ने र छिट्टै संयुक्त बैठक बस्ने तयारी समेत गर्ने निर्णय गरेको छ ।
‘स्थानीय तहको निर्वाचनमा पनि मकवानपुरबाट गठबन्धनका उम्मेदवारहरुलाई जिताएर जनताले एकपटक संविधान मिच्नेहरुलाई दण्ड दिएका छन्’, नेपाली काँग्रेस प्रदेश ख समितिका सभापति रन्जन कालाखेतीले भने, ‘ओलीको व्यक्तिवादी प्रवृत्तिलाई आत्मसात गरेर हिँड्नेहरुलाई अब मंसीर ४ मा अन्तिम धक्का दिइनेछ ।’
कमल थापासँग मिलेर संविधान बन्न नदिने, राजतन्त्रको वकालत गर्ने र जनआन्दोलन दबाउने व्यक्तिलाई एमालेले बोकेर आफ्नो राजतन्त्रप्रतिको मोह प्रकट गरेकोबारे पनि बैठकमा चर्चा भएको छ । गठबन्धनमा भएका बिगतका केही कमी कमजोरीलाई सच्याएर लैजाने र तत्कालै बैठक, छलफलहरु एकल र सामूहिक रुपमा राखेर जनतालाई एमालेले छर्न सक्ने भ्रमप्रति सचेत हुनका लागि आग्रह गर्ने बैठकले निर्णय गरेको छ ।
बैठकमा नेकपा माओवादी केन्द्र प्रतिनिधिसभा २ का इन्चार्ज बीरबहादुर घलान ज्वाला, नेकपा एकीकृत समाजवादीका प्रतिनिधि सभा २ का संयोजक भूमिनन्द अर्याल, प्रदेश ‘ख’ कमिटी संयोजक टंकबहादुर मुक्तान नेपाली काँग्रेस जिल्ला सदस्य नुरोज कुमार पौडेल, नेपाली काँग्रेस मनहरीका सभापति प्रकाश बर्तौला, माओवादी केन्द्रका मनहरी गाउँ कमिटी उपाध्यक्ष दिलबहादुर स्याङ्बो लगायत नेताहरुको सहभागिता रहेको थियो ।