November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

शेरबहादुरलाई प्रधानमन्त्री बनाउन गठबन्धन भएको होइन : प्रधानमन्त्री देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई प्रधानमन्त्री बनाउन पाँच दलीय गठबन्धन नभएको बताएका छन् । प्रधानमन्त्री समेत रहेका देउवाले लहडले गठबन्धन नभएको तर गठबन्धन हिजो, आज र भोलिको आवश्यकता भएको भन्दै सबै दलका नेता र कार्यकर्ताहरूलाई एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरेका हुन् ।

सोमबार काठमाडौंमा आयोजित पाँच दलीय गठबन्धनको बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भने, ‘यो आवश्यकताले बनेको गठबन्धन हो । लहडले बनेको गठबन्धन होइन । शेरबहादुरलाई प्रधानमन्त्री बनाउन बनेको गठबन्धन होइन । गठबन्धन अपरिहार्य थियो, छ र भोलि पनि रहनेछ ।’

देउवाले मुलुकमा स्थायी शान्ति, कसैले खोस्न नसक्ने लोकतन्त्र, समावेशी, समानुपातिक व्यवस्था रहेको संविधान हटाउन नसक्ने गरी गठबन्धन अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

Advertisement

पाँच दलीय गठबन्धनमा रहेका दलहरूभित्र नेताहरूमा समस्या रहेको देउवाको भनाइ थियो । उनले नेताहरूले गठबन्धन भएको अवस्थामा टिकट पाए चुनाव जितिन्छ ठान्दा विवाद भएपनि अब मिलेर अघि बढ्नुपर्ने धारणा राखेका छन् । ‘गठबन्धन बनेको छ, चुनाव जितिहालिन्छ भन्ने भएर सबैलाई टिकट चाहिएको छ ।’, देउवाले भने ।

चुनावका बेला पार्टीहरू संक्रमणकालबाट गुज्रिएको हुने भएकाले एकताबद्ध भएर अघि बढ्न र आफू गठबन्धन टिकाउन लागेको देउवाको भनाइ थियो ।