November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

मकवानपुरगढीमा गठबन्धनको संयुक्त प्रचारप्रसार कार्यालय उद्घाटन

२०७९ कार्तिक १२

मकवानपुर । मकवानपुरको मकवानपुरगढीको विभिन्न तीनवटा वडामा बाम लोकतान्त्रिक गठबन्धनको संयुक्त प्रचारप्रसार कार्यालय उद्घाटन गरिएको छ । मकवानपुरगढीको वडा नम्बर ५ को धादिङ बजार, वडा नम्बर ६ को बाग्दली र वडा नम्बर ७ को सुकौरामा बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट संयुक्त कार्यालय उद्घाटन गरिएको हो ।

कार्यक्रममा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधी सभाका उम्मेदवार विरोध खतिवडाले एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रतिगमनविरुद्ध उभिएका दलहरुका तर्फबाट साझा उम्मेदवारलाई जिताउनका लागि आव्हान गरे । ‘नेकपा एकीकृत समाजवादी, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र लगायत प्रतिगमन विरुद्धका दलहरुको साझा उम्मेदवारका रुपमा बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट हामी जनताको माझ आएका छौं ।’ खतिवडाले भने, ‘संविधान तथा व्यवस्था जोगाउँनका लागि साझा उम्मेदवारका रुपमा गठबन्धन निर्माण गरी जनताका माझ आएकाले हाम्रो जित निश्चित छ ।’

यस्तै, प्रदेशसभा (१) का उम्मेदवार कुमारी मोक्तानले आफ्नो पार्टीको उम्मेदवार नभएपनि देशमा पटकपटक भएका आन्दोलनबाट प्राप्त उपलब्धि रक्षाका लागि गठबन्धनको उम्मेदवारलाई मत दिनुपर्ने बताइन् ।

Advertisement

कार्यक्रममा गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरू प्रल्हाद लामिछाने, मानकुमारी नेपाली, नेकपा एकीकृत समाजवादी मकवानपुरका सचिव विष्णुप्रसाद दाहाल, पार्टीका भूमिनन्द अर्याल, अर्जुन दाहाल, यतिराज सापकोटा, राजवीर मोक्तान, माओवादी केन्द्रका राजकुमार खड्का लगायत जिल्लास्तरका नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।