November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

राजनीतिक उपलब्धि जोगाउन एमालेलाई परास्त गर्नैपर्छ: खतिवडा

२०७९ कार्तिक १३

मकवानपुर । नेकपा (एकीकृत समाजवादी) का स्थायी समिति सदस्य एवम् मकवानपुर क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवार रहेका विरोध खतिवडाले एमाले नेतृत्वको प्रतिगमनकारी गठबन्धनलाई परास्त गर्नुपर्ने बताए । मुलुकमा विगतमा भएका परिवर्तनकारी आन्दोलनमा सँगै होमिएका दलहरुको गठबन्धन र देश टुक्राउने, राजावादी, संविधान नमान्ने दलहरुको अर्को गठबन्धनबीच चुनाव हुन लागेकाले जनता सचेत हुनुपर्ने बेला आएको बताएका हुन् ।

मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८, बुढिचौरमा आयोजित वाम लोकतान्त्रिक संयुक्त गठबन्धनको निर्वाचन परिचालन सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रममा बोल्ने क्रममा उनले भने, ‘बयलगडा चढेर अमेरिका पुगिँदैन भन्ने केपी शर्मा ओली लोकतन्त्र विरोधी भएको पुष्टि भइसकेको छ ।’

एमालेका नेता कार्यकर्ताहरु हिजोका मण्डलेसँग रानजीनिक पाठ सिक्ने काममा लागेकोप्रति व्यङ्ग्य गर्दै नेता खतिवडाले हिजोका राजनीतिक दुश्मनलाई आज चुनावको टिकट दिइएको धारणा राखे । ‘देशलाई अग्रगमनमा लैजान वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउनैपर्छ ।’,उनले भने ।

Advertisement

कार्यक्रममा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा ‘१’ का उम्मेदवार कुमारी मोक्तानले अहिले पार्टीभन्दा पनि गठबन्धनका तर्फबाट आफूहरुको उम्मेदवारी भएकाले इमान्दारीपूर्वक गठबन्धनका उम्मेदवार जिताउन आग्रह गरे ।
यस्तै, नेपाली काँग्रेसका मकवानपुरगढी गाउँपालिका सभापति राजवीर मोक्तानले गठबन्धनका उम्मेदवारले जितेमा मात्र मुलुकमा विकास हुने र मुुलुकमा प्राप्त उपलब्धिको रक्षा हुने धारणा राखे ।