काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सत्ता गठबन्धनले जनताको समृद्धिको चाहना पुरा गर्ने बताएका छन् । आइतबार काठमाडौंको नार्गाजुन नगरपालिका ४ मा सत्ता गठबन्धनको संयुक्त निर्वाचन प्रचार प्रसार कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादीका सचिव समेत रहेका नेता श्रेष्ठले पाँच दलीय सत्ता गठबन्धनले संविधानको रक्षा गर्दै जनताको समृद्धिको तिर्ब चाहनालाई पुरा गर्ने बताएका हुन् ।
आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि काठमाडौं क्षेत्र नं. ८ बाट उम्मेदवार रहेका मन्त्री श्रेष्ठले गरिबी , बेरोजगारी र मजदुरहरूका समस्याको दीर्घकालिक समाधानका लागि सत्ता गठबन्धनको चुनावपछिको सरकारले प्रभावकारी नीति बनाउने समेत प्रतिबद्धता व्यक्त गरे ।
एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले संविधान मिच्दै संसद् विघटन गरेर देशलाई प्रतिगमनतर्फ लैजान खोज्दा संविधानमा ब्यवस्था भएका जनताका हक अधिकारको रक्षा गर्दै देशलाई विकास र समृद्धिको बाटोमा अघि बढाउन र प्रतिगमनलाई परास्त पार्नका लागि नै सत्ता गठबन्धन बनेको बताए ।
उनले देशलाई पछि नभई अघि लैजानका लागि सत्ता गठबन्धनका उम्मेदवारहरूलाई चुनावमा मतदान गरेर विजयी गराउन आग्रह समेत गरे । मन्त्री श्रेष्ठले काठमाडौं क्षेत्र नं.८ को समग्र विकासका लागि आफ्नो उम्मेदवारी रहेकाले आफूलाई मतदान गरेर विजयी गराउन मतदाता समक्ष आग्रह गरेका छन् ।