काठमाडौं । सत्ता गठबन्धनबीच सहमति जुट्न नसकेपछि बालकोटमा नयाँ विकल्पसहित नेताहरु सहमति नजिक पुगेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारमा सहमति हुन नसक्दा सत्तागठबन्धनको औचित्य सकिएको भन्दै बालकोट पुगेका थिए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको छलफलमा प्रधानमन्त्रीमा प्रचण्ड र राष्ट्रपति एमालेको भागमा पर्नेगरी छलफल भएको छ । साढे २ वर्षपछि एमालेले प्रधानमन्त्री लिने सल्लाह भएको स्रोतले जनाएको छ । प्रचण्डलाई प्रधानमन्त्री बनाउनेबारे राष्ट्रपति कार्यालयमा जानकारीसमेत पठाइसकिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टीबीच भएको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउने विषयमा सहमति नजिक पुगेको हो । चार पार्टीको बैठक अघि एमाले अध्यक्ष ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनबीच पनि सत्ता सहकार्य गर्ने समझदारी भएको थियो।
प्रचण्डलाई एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपा १२ र अन्य साना दलको समेत समर्थन जुटेको बताइएको छ । सिके राउत नेतृत्वको जनमत पार्टीले पनि नयाँ गठबन्धनलाई सघाउने छ । निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दल बन्ने देखिएको छ ।