काठमाडौं । सरकार गठनका लागि दाबी पेस गर्न राष्ट्रपतिले दिएको आज(आइतबार) साँझ पाँच बजेसम्मको समय सीमा सकिएको छ । संविधानको धारा ७६ को उपधारा २ बमोजिम राष्ट्रपतिले दिएको निर्धारित समय सकिएको हो ।
समय सकिन लाग्दा सरकार निर्माणमा दावी गर्न नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहितका दलका नेताहरु राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । नयाँ सरकारका लागि कांग्रेससहितको सत्ता गठबन्धनसँग कुरा नमिलेपछि नाटकीय रुपमा पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा एमालेसहितको सरकार बन्ने भएको छ ।
शीतल निवास जानुअघि प्रचण्ड, एमाले अध्यक्ष केपी ओली लगायतका नेताहरुले ओलीको बालकोटस्थित निवासमा बहुमत जुटाउन राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा नेपाल लगायतका दलसँग छलफल गरेका थिए ।
एमाले, माओवादी, रास्वपा, राप्रपा, नागरिक उन्मुक्ति पार्टी, जसपा, जनमत पार्टीले प्रचण्डलाई प्रधानमन्त्रीमा अघि सार्ने निर्णय गरेका थिए। यी सबै दलबाट गरी प्रतिनिधि सभामा १६६ जना सांसद छन्। सरकार गठनका लागि १३८ जना सांसदको समर्थन भए बहुमत पुग्छ।