राजविराज । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्ता कब्जाको दाउ चलिरहेका बताए । शनिबार सप्तरीको राजविराजमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले सभामुख, राष्ट्रपति कब्जा गर्ने, पछि प्रधानमन्त्री कब्जा गर्ने त्यसपछि राज्यका अन्य निकाय कब्जा गर्ने सोचबाट नेतृत्व ग्रसित रहेको बताएका हुन् ।
नेपालले वर्तमान सरकार आएपछि अहिले तमासाहरु भइरहेको बताए । नेपालले भने, ‘तमासाहरु भइरहेको छ, अझै कतिवटा तमासा आगामी दिनमा हुने हो त्यो हेर्न बाँकी नै छ ।’
यस्तै, एमालेले राष्ट्रपति पाए उसलाई कसैले छुन नसक्ने बताएका छन् । ‘राष्ट्रपति एमालेले पायो भने उसलाई कसैले छुन सक्दैन्, यो कुरा माओवादीले बुझ्या छन् कि छैनन् ? एमालेमा असहिष्णु र संकीर्ण सोच छ ।’, नेपालले भने । नेपालले आफ्नो पार्टी एकीकृत समाजवादीसँग वार्ता गरेकै कारण जसपालाई सरकारमा मौका नदिएको कुरा सुनेको बताउदै भने, ‘यति असहिष्णु, यति संकीर्ण सोच भएकाबाट के होला ?’
नेपालले काँग्रेसलाई पार्टी नै नभएको आरोप लगाए । उनले भने, ‘नेपाली काँग्रेस अनुशासन पालना नगर्ने, गुटैगुटमा चिराचिरा परेको, एकले अर्काको कुरा नमान्ने विचित्रको पार्टी हो । यो पार्टीभन्दा पाटीपौवा जस्तो छ ।’