November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

सजाय तोकिएको नौ वर्षपछि सांसद अरुण चौधरी जेल चलान

काठमाडौं । कैलाली निर्वाचन क्षेत्र नंम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य अरुण चौधरीलाई जेल चलान गरिएको छ ।

शुक्रबार बिहान प्रहरीले जिल्ला अदालत कैलाली बुझाएपछि अदालतले प्रतिनिधि सभा सदस्य चौधरीलाई जेल चलान गरेको हो ।

गत मंसिर ४ गतेको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित चौधरी बिहीबार बाँकेबाट पक्राउ परेका थिए । शुक्रबार कैलाली जिल्ला अदालतमा पेश गरेलगत्तै अदालतको आदेश बुझाएर चौधरीलाई जेल चलान गरिएको हो ।

Advertisement

१३ वर्ष अघि २०६६ सालमा ट्याक्टर जलाएको घटनामा सांसद चौधरीसहित तीन जनालाई जिल्ला अदालतले दोषी ठहर गर्दै ६ महिना जेल र ८ लाख १८ हजार रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिएको थियो ।

कैलाली जिल्ला अदालतले २०७० साल बैशाख ९ गते उक्त घटनाको फैसला सुनाएको थियो । यसबीचको अवधिमा फरार सूचिमा रहेका चौधरी बिहीबार पक्राउ गरी अदालतको आदेश कार्यान्वयनका लागि कैलाली लगिएको थियो ।

घटना भएको १३ वर्षपछि र अदालतबाट सजाय तोकिएको नौ वर्षपछि प्रहरीले प्रतिनिधिसभा सदस्य बनेका चौधरीलाई पक्राउ गरेको थियो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी पोषराज पोखरेलले जिल्ला अदालत कैलालीको फैसला कार्यान्वयनका सिलसिलामा चौधरीलाई पक्राउ गरिएको जानकारी दिए ।