काठमाडौं । अखिल नेपाल महिला संघ (समाजवादी) को चौथो बैठक सम्पन्न भएको छ । सोमबार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा सम्पन्न बैठकले नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी) को माघ २१–२२, मा ललितपुरमा सम्पन्न केन्द्रिय कमिटीको बैठकको निर्णय र यस अघि २०७९ पौष २४ गते पार्टी केन्द्रीय कमिटीबाट जारी असनि–३ बमोजिम जनसङ्गठनको पुनर्गठन गर्नुपर्ने जिम्मेवारी समेतलाई ध्यानमा राखी विभिन्न कार्ययोजना तयार गरेको छ ।
बैठकले संगठन निर्माणको लागि अखिल नेपाल महिला संघ (समाजवादी) ले महत्वपूर्ण उपलब्धि हासिल गरेको समीक्षा गर्दै संगठनको नियमित बैठक गर्ने, सङ्गठित नेता–कार्यकर्तालाई प्रशिक्षित गर्ने, महिला माथि समाजमा विद्यमान हिंसा र भेदभावको अन्त्यका लागि महिलाहरूलाई जागरुक बनाउने, सदस्यता प्रदान गर्ने,नविकरण गर्ने, संगठनको सदस्यता र कमिटीहरूको तथ्याङ्क अद्यावधिक गर्ने र संगठन परिचालनको कामलाई विशेष महत्वका साथ अगाडि बढाउनुपर्ने आवश्यकता महसुस भएको समीक्षा गरेको छ ।
जसअनुसार आगामी ०८० ज्येष्ठ महिनामा अखिल नेपाल महिला संघ (समाजवादी) को राष्ट्रिय सम्मेलन आयोजना गर्ने, ०७९ चैत्र महिनामा अखिल नेपाल महिला संघ (समाजवादी) को प्रदेश सम्मेलनहरू आयोजना गर्ने, ०८० फागुन अखिल नेपाल महिला संघ (समाजवादी) को जिल्ला सम्मेलनहरू आयोजना गर्ने, ०७९ फागुन १५ गते सम्ममा अखिल नेपाल महिला संघ (समाजवादी) को गाउँ तथा नगर सम्मेलन आयोजना गर्ने निर्णय गरेको अनेमसंघ समाजवादीकी उपाध्यक्ष तथा संगठन विभाग प्रमुख सावित्रा भुसालले बताए । बैठकले अखिल नेपाल महिला संघ (समाजवादी) को सदस्यता वितरण कार्यलाई प्रभावकारी बनाउने र सोको तथ्याङ्क अद्यावधिक गर्ने, संगठनका सबै तहका समितिहरूले सम्मेलन अवधि सम्ममा अनिवार्य रूपले प्रशिक्षण कार्यक्रम आयोजना गर्ने, सबै समितिहरू र विभागहरूले आफ्ना सबै पदाधिकारी तथा सदस्यहरूलाई जिम्मेवारी र दायित्व तोक्ने र प्रत्येक महिना सम्बन्धित समितिमा बुझाउने व्यवस्था गर्ने, जन प्रतिनिधिहरूको लागि प्रशिक्षण कार्यक्रम आयोजना गर्ने, महिला हिंसा भएका घटनामा जिल्ला तहको उपस्थिति हुने र पीडित पक्षमा लागेर आवश्यक सहयोग गर्ने , केन्द्रिय विभागहरूलाई पूर्णता दिने र बैठक राख्ने अखिल नेपाल महिला संघ (समाजवादी) को मुखपत्र र आगामी वर्षको लागि क्यालेण्डर प्रकाशन गर्ने जस्ता निर्णयहरु गरेको भुसालले बताए ।
कार्यक्रममा संघकी कोषाध्यक्ष डा. सीता ढुङ्गानाले संगठनको आर्थिक प्रतिवेदन र आगामी कार्ययोजना प्रस्तुत गरेका थिए भने उपाध्यक्ष तथा संगठन विभाग प्रमुख सावित्रा भुसालले संघको आगामी कार्ययोजना पार्टीका केन्द्रीय सदस्य तथा अनेमसंघका सचिव गरीमा साहले समाजवादी महिला सम्मेलन सम्बन्धी अवधारणा र अध्यक्ष जयन्ती राईले संगठनको प्रतिवेदन पेश गरेका थिए ।
अखिल नेपाल महिला संघ (समाजवादी) की अध्यक्ष जयन्ती राईको अध्यक्षतामा बसेको बैठकमा प्रमुख अतिथि पार्टीका अध्यक्ष माधव कुमार नेपाल सहित विशेष अतिथिहरु उपाध्यक्ष तथा पूर्व मुख्य मन्त्री राजेन्द्र पाण्डे मोर्चा प्रमुख डा. विजय पौडेल, मोर्चा सह ईन्चार्ज भविश्वर पराजुली पार्टीका स्थायी कमिटी सदस्य कल्याणी खड्का, सचिव गरिमा साह महिला फाट सह ईन्चार्चहरु अनेमसंघ (समाजवादी )को केन्द्रीय पदाधिकारीहरु सहितसंघ तथा प्रदेश सभा माननीयहरुको उपस्थिति रहेको थियो ।
अनेमसंघका महासचिव रमा आले मगरले संचालन गर्नुभएको कार्यक्रममा संघ तथा प्रदेश माननीयहरुलाई सम्मानसमेत गरीएको थियो ।