November 10, 2026, Tuesday
२०८३ कार्तिक २५
1:37:26 pm

पूर्वराजपरिवारलाई बोलाएर कार्यक्रम गरेपछि दुर्गा प्रसाईलाई कारवाही गर्नुपर्ने एमालेभित्र चर्चा

काठमाडौं । एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईले पूर्व राजालाई बोलाएर कार्यक्रम गरेपछि एमाले वृत्तमा पार्टीभित्र राख्न नहुने चर्चा चलेको छ । पार्टीको केन्द्रीय सदस्यले नै पूर्व राजालाई अतिथि बोलाएर कार्यक्रम गरेपछि त्यसबारेमा छलफल गरी कारबाही गर्नुपर्ने आवाज उठेको हो ।

पार्टीले केन्द्रीय सदस्यहरुलाई ‘मिसन ग्रासरुट’, अभियान सञ्चालन गर्ने तयारी गरेको र पार्टीका नेताहरु गाउँ–गाउँ जान लागेका बेला प्रसाईले भने पूर्व राजालाई बोलाएर अभियान नै शुरु गरेपछि उनलाई पार्टीबाट कारबाही गर्नुपर्ने आवाज उठेको हो ।

सोमबार अपरान्ह मेडिकल व्यवसायी प्रसाईंले झापामा विकृति विरुद्धको अभियान सञ्चालन गरेका थिए । त्यही समय एमाले अध्यक्ष केपी शर्मा ओली झापामै भए पनि उनी त्यहाँ गएनन् ।

Advertisement

प्रसाईंले ओलीलाई पनि निम्ता दिएका थिए । तर कार्यक्रम ढिला गरी पूर्वराजा ज्ञानेन्द्र शाह उपस्थित भएका थिए । पूर्वराजा बा २१ च ७३१८ नम्बरको टोयटा कम्पनीको सवारी आफैंले चलाएर कार्यक्रम स्थलसम्म आएपछि प्रसाईंले स्वागत गरेका थिए ।

पूर्वयुवराज पारस शाह, छोरी सितास्मा र नातिनी पूर्णिकाका साथ स्टेज चढेका पूर्वराजा धेरै समय भने बसेनन् । विकृतिविरुद्ध अभियानकी प्रवक्ता रमा सिंहले पूर्वराजालाई राजतन्त्रको अवधि झल्कने गरी देशमा विद्यमान समस्याबारे जानकारी गराउँदै स्वागत गरेकी थिइन् । उनी पनि राजसंस्थाप्रति आस्थावान हुन् ।