काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको अहिलेको राजनीतिक अवस्था फेर्न देशी विदेशी शक्तिहरु लागि परेको बताएका छन् ।
मंगलबारबाट काठमाडौंमा सुरु भएको अनेरास्ववियुको २३ औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको राजनीतिक अवस्था फेरिन सक्ने उल्लेख गरे । अहिलेको सत्ता गठबन्धनलाई भत्काउन देश भित्र र बाहिरबाट खेल भइरहेको पनि ओलीको दाबी छ ।
राजनीतिमा अनेक उतारचढाव आउने बताउँदै उनले अहिले गठबन्धन तोडेर नयाँ गठबन्धन बनाएकोमा त्यो तोडिने अवस्था आए पनि सहज रूपमा लिनु पर्ने बताए । पुरानो गठबन्धन तोडियो भन्दैमा धेरै खुसी नहुन उनले नेता कार्यकर्तालाई आग्रह गरे । देशमा अस्थिरता ल्याउन र यो गठबन्धन तोड्न अनेक प्रकारका प्रयास भइरहेको उनले बताए । डाँकाडाल्न पहिला पालेलाई हान्नुपर्छ भन्ने बुझेकाहरू पहिला एमाले माथि प्रहार गर्न लागेका उनले सुनाए ।
सही चिजलाई केही समयको लागि पराजित गरे पनि त्यो लामो समय नटिक्ने ओलीले बताए । जस्तोसुकै असहज परिस्थिति आए पनि अन्ततः सत्यको जीत हुने उनले प्रष्ट पारे ।
नेकपा एमाले माथि बाहिर र भित्रबाट समेत प्रहार गरिएको बताउँदै ओलीले पार्टी भित्रबाट प्रहार नभएको भए बाहिरी प्रहारले मात्र एमालेलाई हराउन नसक्ने बताए । पार्टी भित्रबाट एमालेलाई ध्वस्त बनाउने काम भएको ओलीले बताए ।