November 10, 2026, Tuesday
२०८३ कार्तिक २४
1:37:26 pm

माधव नेपाल र शेर बहादुर देउवालाई राष्ट्रपतिको उम्मेदवार बन्न दबाब

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच गोप्य भेटघाट भएको छ । सो गोप्य भेटघाटमा एमालेका अध्यक्ष ओलीले एसका अध्यक्ष नेपाललाई पार्टी एकतासहित राष्ट्रपति पदको उम्मेदवार बन्न प्रस्ताव गरेका छन् ।

‘उहाँहरुबीच भेटघाट भएको छ, यसले भोलिबाट आकार ग्रहण गर्दछ’, एमालेका एक पदाधिकारीले भने । एमाले छोडेर नयाँ पार्टी गठन गरेका नेपाललाई ओली आफैँले भेट्न बोलाएर त्यस्तो प्रस्ताव गरेको ओली निकट एमालेका एक पदाधिकारीको दाबी छ ।

प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिमा राष्ट्रपतिको उम्मेदवार खोजी गर्नुपर्ने भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिमा सघाउन सक्ने देखेपछि ओलीले माधव नेपालसँग हात मिलाउन खोजेका हुन् ।

Advertisement

माधव नेपालको पार्टीसँग १० सांसद प्रतिनिधि सभामा छन् । एमालेबाट विष्णुप्रसाद पौडेल, पृथ्वी सुब्बा गुरुङ ,महेश बस्नेतको पहलमा ओली र नेपालबीच भेटघाट भएको हो ।

त्यस्तै यता राष्ट्रपतिका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नै अघि सार्नुपर्ने भन्दै पार्टीभित्र र बाहिरबाट दबाब परेको छ । स्रोतका अनुसार देउवा पुन पार्टी सभापति लड्न नपाउने र प्रधानमन्त्री बन्ने अवस्था पनि तत्काल नरहेकाले कांग्रेसभित्रैबाट देउवामाथि दबाब बढाइएको हो । कांग्रेसबाट राष्ट्रपतिका लागि रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला चर्चा थिए । सभापति आफैं राष्ट्रपतिका लागि अघि सर्ने हो भने पौडेलले पनि साथ दिने वचन दिएका छन् ।