काठमाडौँ । गुण्डा नाइके चक्रे मिलन (मिलन गुरुङ)को ‘एके ४७’ हतियारसहित स्कर्टिङमा खटिएका गणेशबहादुर बोगटी पक्राउ परेका छन् ।
बैजनाथ गाउँपालिका, नौवस्ताका बोगटीलाई जिल्ला प्रहरी कार्यालय, बाँकेले पक्राउ गरेको हो । चक्रे मिलन नेपालगञ्ज गएका बेला उनलाई स्कर्टिङ गर्न बोगटी हटियारसहित खटिएको भिडियो सार्वजनिक भएपछि प्रहरीले उनलाई खोजेर पक्राउ गरेको हो ।
नेपालगञ्जको सिद्धार्थ होटलमा देखिएका बेला बोगटीले चक्रेलाई हतियारसहित स्कर्टिङ गरेको भिडियो टिकटकमार्फत सार्वजनिक भएको थियो । चक्रे मिलन नेकपा एमालेका कार्यकर्ता हुन् । स्रोतका अनुसार उनी युवा संघको महाधिवेशनमा भाग लिन नेपालगञ्ज पुगेको थिए ।
बोगटीले बोकेको हतियारको जिल्ला प्रशासन कार्यालय, बाँकेबाट लाइसेन्ससमेत लिएको पाइएको छ । प्रयोजनका लागि र कहिले उनले हतियार लिएका थिए भन्ने विषयमा अनुसन्धान भइरहेको बाँकेका एसपी सन्तोष सिंह राठौरले बताए ।
चक्रे मिलन काठमाडौं उपत्यकाको पुरानो गुण्डा नाइकेमध्येमा पर्छन् । २०६२÷०६३ को जनआन्दोलनपछि ठमेलमा दीपक मनाङे, महाराजगञ्जमा चक्रे मिलन र चाबहिलमा राजु गोर्खालीको पकड थियो ।
दीपक मनाङेमार्फत रेस्टुराँको बाउन्सर हुँदै ठेक्कापट्टामा लागेर गुण्डागर्दीमा छिरेका गणेश लामाको समूहले २०६१ सालमा पानीपोखरीको चुफाङ रेष्टुराँमा चक्रे मिलनको हात छिनाइदिएको थियो । पछिल्लो समय उनी राजनीतिमा छिरेका छन्। गणेश लामा सत्तारुद्ध नेपाली कांग्रेसमा छन्।
अधिकांश गुण्डा नाईके अहिले राजनीतिको आडमा आफनो सुरक्षा गरिरहेका छन् । दिपक मनाङे त गण्डकी प्रदेशसभा सदस्य निर्वाचित भएर पटक पटक मन्त्रीसमेत बनिसकेका छन् ।