November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

१३ वर्षसम्म सेती लोकमार्गको काम पूरा हुन नसकेको भन्दै सांसद कुँवरद्वारा रोष प्रकट 

काठमाडौं । अछाम जिल्ला निर्वाचन क्षेत्र नम्बर १ का सांसद शेरबहादुर कुँवरले मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोलेका छन् । प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद कुवँरले आर्थिक वर्ष ६७/६८  सालमा बजेट बिनियोजित गरेर कामको सुरुवात  भएको सेती लोकमार्गको काम १३  वर्ष सम्म पनि पूरा  हुन नसकेको भन्दै रोष प्रकट गरेका हुन् ।

उनले भने, ‘राष्ट्रिय गौरवको आयोजनाका कामहरुले पनि गति लिन नसक्ने हो भने हामीप्रति आम नागरिकको धारण सकारात्मक हुँदैन ।’

सांसद कुँवरले वातावरणीय अध्ययन लगायतका विभिन्न बहाना बनाएर कामलाई प्रभावित गर्न सरकारको ठूलो कमजोरीको पराकाष्ठा भएको बताए ।

Advertisement

सेती लोकमार्गको नामाकरण हुँदा आफू तत्कालीन संविधान सभाको सदस्य भएर प्रतिनिधि बैठकमा भाग लिएर खुसी भएको बताउँदै सांसद कुँवरले अहिलेसम्म आयोजनाप्रति सरकार उदासीन भएको र अब  गम्भीर भएर कार्यान्वयन गर्नका लागि आग्रह गरे ।

उनेले सेती लोकमार्ग निर्माण गरी संचालनमा आएपछि ताक्लाकोट मानसरोवर जाने पर्यटकको लागि सबै भन्दा छिटोछरितो दुरीको सडक हुने भएकोले आन्तरिक तथा बाह्य पर्यटकमार्फत स्थानीय वासीक आम्दानीको श्रोत बढ्ने पनि बताए ।

सेती लोकमार्ग सम्पन्न गर्दा २० वटा मोटरेवल पुलमध्ये अहिलेसम्म ३ वटा पुलको ठेक्का लगाएर निर्माण कार्य अघि बढेको ३ वटा पुलको (बिस्तृत लागत विवरण) डिजाइन इष्टमेट बनेर ठेक्का लगाउने काम नभएको र बाकी १४ वटा पुलको बारेमा अहिलेसम्म सुनुवाइ नभएको बताए ।

कैलाली, अछाम र बझाङ जिल्लाको खण्डमा सडक कटिङको केही काम भए पनि डोटी जिल्लामा अहिलेसम्म काम नभएकोले यसै बर्षमा बजेटको आवश्यक व्यवस्था गरेर तत्काल कामलाई अगाडि बढाउन सदनमार्फत सरकारको ध्यानाकर्षण गराए।

कैलाली जिल्लाको बौनिया बजारबाट बझाङ हुँदै ताक्लाकोट पुग्नका लागि सबै भन्दा छोटो दूरी हुनका साथै पहाड र तराई जोड्नका लागि सजिलो रहेको बताउँदै सेती लोकमार्गको कामलाई ढिलासुस्ती नगर्न सरकारसँग आग्रह गरे ।

सेती लोकमार्गको काम सम्पन्न भएर सञ्चालनमा आएमा बाजुरा, बझाङ, अछाम र डोटी जिल्लाको कैलाली जोड्ने सबैभन्दा छोटो सडक मार्ग हो ।