काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जालहरुमार्फत समाजमा अराजकता फैलाउने कोशिस भइरहेको बताएका छन् । शनिबार कम्युनिस्ट नेता नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानको कार्यक्रममा बोल्दै उनले पछिल्लो समय विचार, सिद्धान्त, मूल्य, आदर्शमा विचलन देखिएको बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिले वैचारिक विषयहरु वा यस खालका लेख, रचनाहरुतिरहरु भन्दा सोसल मिडिया, युट्युब, टिकटकमा मान्छे लागेका छन् । त्यसले मान्छेलाई क्षणिक उत्तेजना, क्षणिक आवेगमा ल्याउने र समाजलाई अराजक बनाउने खतरा पैदा भएको छ ।’
गत निर्वाचनमा पनि विचार, सिद्धान्त, मूल्य, मान्यता र आदर्शका एजेण्डा भन्दा मान्छे क्षणिक सेन्टिमेन्टतिर लागेको प्रधानमन्त्रीले बताए । उनले भने, ‘भर्खरै गएको निर्वाचनमा पनि विचार, सिद्धान्त, मूल्य, मान्यता र आदर्शका एजेण्डालाई भन्दा मान्छेमा सेन्टिमेण्टलाई, भावनालाई, आवेगलाई अराजकतालाई प्रश्रय दिने प्रवृत्ति बढ्दो देखिन्छ । यस्तो बेलामा बौद्धिक पक्षबाट बुद्धिजीविबाट अलि हस्तक्षेप बढ्न जरुरी छ । वैचारिक वहस चलाउन जरुरी छ ।’