काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले नक्कली भुटानी शरणार्थी बनेर रकम बुझाउनेलाई पनि कारबाही गर्नुपर्ने बताएका छन् । नेपाली भएर नक्कली भुटानी शरणार्थी बन्न तयार भई रकम संकलन गर्ने र बुझाउनेहरू पीडित नभएको भन्दै उनीहरुलाई पनि कारबाही गरिनुपर्ने थापाले बताएका हुन् ।
थापाले सामाजिक संजालमा लेखेका छन्, ‘नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने धन्दावाल जो कोहीमाथि सप्रमाण कारबाही हुनुपर्छ । साथै, नक्कली शरणार्थी बन्न तयार भएर लाखौं रकम बुझाउने गैरकानुनी काममा संलग्न व्यक्तिहरूमाथि पनि जाहेरी सँगसँगै पक्राउ, अनुसन्धान र कडा कारबाही चलाउनुपर्छ ।’
गैरकानुनी काम गर्ने, गराउने र संलग्न हुने सबै अपराधीहरू भएको भन्दै उनले भनेका छन्, ‘नेपाली भइकन नक्कली भुटानी शरणार्थी बन्न तयार भई रकम संकलन गर्ने र बुझाउनेहरू पीडित कदापि होइनन् । तिनको रकम जफत गर्नुपर्छ । अनि तिनलाई पक्राउ गरी पुर्पक्षका लागि जेल हालेर मात्रै अनुसन्धानको जारी कारबाही अघि बढाउनु पर्छ । खासमा व्यक्ति कसैको मुख नहेरी भन्नैपर्छ– गैरकानुनी काम गर्ने, गराउने र संलग्न हुने सबै अपराधीहरू हुन्। यसमा निर्दोष कसैलाई फसाउनु हुँदैन र कोही पनि अपराधीले उन्मुक्ति पाउनु हुँदैन ।’