काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भुटानी शरणार्थी प्रकरण सुरूवातमात्रै भएको बताएका छन्। शनिबार पार्टी निकट नेपाल दलित मुक्ति मोर्चाले काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले फिल्म आउनै बाँकी रहेको बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘अस्ती मजदुरहरूको महाधिवेशनमा मैले घोषणा गरेको थिएँ। अब भ्रष्टाचारीहरूको फाइल खोलिन्छ। कुनै पनि हालतमा भ्रष्टाचारीलाई छुट दिन सकिँदैन। अहिले त्यो प्रक्रिया सुरू भएको छ, यो सुरूवात मात्रै हो। यो ट्रेलरमात्रै हो। हेर्दै जानु, सिंगै फिल्म देखिन्छ। सिंगै फिल्म देखिनेवाला छ ।’
यस्तै, प्रधानमन्त्री प्रचण्डले आफू भ्रष्टाचारविरूद्ध लाग्दा ठूलाठूला घेराबन्दीहरू हुने तर जनताको साथ भएमा दबाब र धम्कीको पनि सामना गर्ने बताए। उनले भने, ‘त्यसपछि पक्कैपनि ठूल्ठूला घेराबन्दी होलान्। ठूल्ठूला दबाब आउलान्। धम्कीहरू होलान्। धेरै चिजहरू हुनसक्छ यो बिचमा, तर हाम्रो उत्पीडित वर्ग समुदाय, हाम्रो श्रमजिवी समुदाय साथमा भयो भने जतिसुकै ठूला घेराबन्दी दबाब र धम्कीको सामना गरिनेछ।’
अहिले भुटानी शरणार्थी प्रकरणमा संलग्न व्यक्तिहरूले आफूहरू सडकमा आन्दोलन गर्न जाँदा पनि व्यंग्य गरेको कुरा पनि उनले बताए। तर काठमाडौंका सडकमा लाखौं जनता आएर प्रतिगमनलाई र षड्यन्त्रलाई पररास्त पारेको उनले बताए।