अछाम । अछाम जिल्ला निर्वाचन क्षेत्र नम्बर १ का सांसद तथा पूर्व मन्त्री शेरबहादुर कुँवरले जल, जमिन र जङ्गलको उचित प्रयोग गरेर रोजगारीको सृजना गर्नु पर्ने कुरामा जोड दिएका छन् । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा अर्थ मन्त्रीले आर्थिक वर्ष ८०÷८१ को विनियोजन विधेयक प्राथमिकता र सिद्धान्तका बारेमा छलफलको क्रममा बोल्दै सांसद कुँवरले कृषि र काष्ठ उद्योगको क्षेत्रमा लगानी बढाउनुपर्ने बताउँदै मल र बीउको अभाव हुन नदिनका लागि सरकारले विशेष कार्यक्रम बनाएर मल र बीउ नेपालमै उत्पादन गर्नु पर्ने बताए ।
उनले गाउँमा रहेका बाजो जग्गाको उचित व्यवस्थापन गरेर कृषिमा आधुनिकीकरण करण गरि लगानी बढाउनमा सरकारको ध्यानाकर्षण गराए । स्वदेशी तथा विदेशीहरूको लगानीको बारेमा समावेश गरिए पनि उनीहरूको लागि भयरहित वातावरणको सृजना कसरी गर्न सकिने हुँदा यसतर्फ ध्यान दिनुपर्ने बताउँदै आर्थिक वर्षको अन्तिममा हुने टालटुले विकासले देश समृद्धितर्फ जान नसक्ने भएकोले यसका बारेमा सरकार गम्भीर हुनुपर्ने बताए ।
उनले हामी सुशासन र अनुगमनका विषयमा मौन रहेको र अनुगमनको कामलाई अगाडि बढाएर परिणाम दिनुपर्ने भन्दै प्रदेश र स्थानीय तहमा सुशासनलाई प्राथमिकता दिएर अगाडि वढ्नु पर्ने कुरामा जोड दिए ।
राष्ट्रिय गौरवका योजनालाई प्राथमिकतामा राखेर मात्रै हुदैन सम्पन्न गर्न तर्फ सरकारले अग्रसरता लिनुपर्ने बताउँदै संसद् कुँवरले नयाँ शहरको नामाकरण गरी काम सुरु गरिएको भए पनि अहिलेसम्म सम्पन्न नभएको बताउँदै परिणाममुखी योजना बनाउन सरकारलाई आग्रह गरे ।