November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

नक्कली भुटानी शरणार्थी प्रकरण: दोषीलाई उन्मुक्ति नदिन नेसपाको आग्रह

काठमाडौं । नेपाल समाजवादी पार्टी नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई उन्मुक्ति नदिन आग्रह गरेको छ । विहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेसपाले अपराधीलाई उन्मुक्ति नदिन आग्रह गरेको हो ।

नेसपाले नेपाल सरकार र प्रहरी प्रशासनले गरेको अनुसन्धान प्रक्रिया स्वागतयोग्य भएको बताएको छ । वक्तव्यमा उल्लेख छ, ‘आफ्नै देशको नागरिकलाई अनागरिक बनाएर विदेशमा मानवतस्करी गर्नु र त्यस निम्ति राज्यको उच्च तहमा रहेकाहरुले नै निजी लाभका निम्ति राज्यशक्तिको चरम दुरुपयोग गर्नु निकृष्टतम अपराध हो । यसको जति भर्त्सना गरे पनि थोरै हुन्छ । यो प्रकरणमा अहिलेसम्म नेपाल सरकारले र मुख्यतः प्रहरी प्रशासनले जुन तदारुकता देखाएर अनुसन्धान प्रक्रिया अघि बढाएको छ त्यसको नेपाल समाजवादी पार्टी हार्दिक स्वागत गर्दछ ।

बाबुराम भट्टराईद्वारा जारी वक्तव्यमा अपराधीले उन्मुक्ति पाउन नहुने बताएको हो । ‘निष्पक्ष ढंगले अनुसन्धानलाई अघि बढाएर यसलाई छिटो तार्किक निष्कर्षमा पुऱ्याउन राज्यका सम्बन्धित निकाय र पदाधिकारीहरुलाई हार्दिक आग्रह गर्दछ । साथै कुनै पनि वहानामा अपराधीलाई उन्मुक्ति नदिन र निर्दोषलाई नफसाउन पनि नेसपा खबरदारी गर्दछ ।’, वक्तव्यमा भनिएकोछ ।

Advertisement

यस प्रकरणलाई एउटा महत्वपूर्ण टेस्ट-केसको रुपमा लिएर हाम्रो राज्य र समाजमा क्यान्सर फैलिएको भ्रष्टाचारको समस्यालाई दीर्घकालीन रुपमा निवारण गर्न सकिने नेसपाले जनाएको छ ।